काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा पनि निजी क्षेत्रको लगानी खुल्ला गरेसँगै यो क्षेत्रमा निजी क्षेत्रको आकर्षण बढ्दो क्रममा रहेको देखिएको छ ।
निजी क्षेत्रले संचालन गरेका अस्पताल, स्वास्थ्य सम्बन्धी शैक्षिक संस्था र अक्सिजन उद्योगमा अहिलेसम्म १९ अर्ब रुपैयाँको लगानी भएको छ । यो तथ्यांक उद्योग विभागमा दर्ता भएको निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको हो ।
विभागका अनुसार निजी क्षेत्रबाट सबैभन्दा पहिला खुलेको स्वास्थ्य संस्था मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप नेपाल हो । यो ग्रुपले २०५१ सालमा उद्योग विभागमा कम्पनी खोलेको थियो ।
मणिपाल ग्रुपले कास्कीको पोखरामा मणिपाल अस्पताल संचालन गरेको छ । यो ग्रुपले मात्रै ३ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ ।
विभागका अनुसार निजी क्षेत्रबाट संचालित ५५ अस्पताल र ४ वटा अक्सिजन उद्योग छन् । यो तथ्यांक गत २५ भदौसम्मको हो ।
यी ५५ अस्पताल र ४ अक्सिजन उधोगले प्रत्यक्ष रुपमा ११ हजार ५ सय १२ जनालाई रोजगार दिएका छन् ।
मणिपाल पहिलो पनि ठूलाे पनि
कास्कीको पोखरामा रहेको मणिपाल एजुुकेसन एण्ड मेडिकल गु्रप नेपालले ३ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ । उद्योग विभागका अनुसार एउटै ग्रुप वा कम्पनीले स्वास्थ्य सेवा क्षेत्रमा गरेको लगानीमा यो नै सबैभन्दा धेरै हो ।

मणिपाल हस्पिटल
यस्तै, ललितपुर स्थित एभरेष्ट मेडिकल कलेजमा १ अर्ब ५ करोड १६ लाख रुपैयाँ लगानी गरिएको छ ।
विभागका अनुसार बाँकेमा रहेको लर्ड बुद्ध एजुकेसनमा १ अर्ब ५० करोड रुपैयाँ लगानी छ । काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पतालमा १ अर्ब ६ करोड रुपैयाँ लगानी छ ।
काठमाडौंमा २३ वटा अस्पताल
देशको संघीय राजधानी काठमाडौंमा अस्पताल खोल्ने निजी क्षेत्रको आकर्षण निकै देखिन्छ । विभागको तथ्यांक अनुसार काठमाडौंमा मात्रै निजी क्षेत्रबाट संचालित २३ अस्पताल छन् ।
यस्तै, ललितपुरमा ७ वटा, कास्कीमा ५ वटा, बाँकेमा ३ वटा, दाङमा ३ वटा, धनुषामा १, मोरङमा २, रुपन्देहीमा २, पर्सामा २, चितवनमा २, कन्चनपुरमा १, हुम्लामा १, सप्तरीमा १ र काभ्रेमा १ वटा अस्पताल छन् ।
साढे ११ हजारलाई रोजगारी
निजी क्षेत्रबाट स्थापित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा ११ हजार ५ सय १२ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका उद्योग विभागको तथ्यांकमा उल्लेख छ । बाँकेस्थित लर्ड बुद्ध एजुकेसनले सबैभन्दा बढी १ हजार १ सयलाई प्रत्यक्ष रोजगार दिएको छ ।
यस्तै, दाङस्थित लालबहादुर शास्त्री मेमोरीयल कलेजले ९ सय ४८ जनालाई, रुपन्देहीस्थित युनिभर्सल ईन्सटिच्युट अफ एडुभान्स स्टडिजले ७ सय ८७ जनालाई, चितवनस्थित ईन्टरनेसनल सोसाईटी फर मेडिकल एजुकेसनले ७ सय १८ जनालाई र चितवन मेडिकल कलेजले ६ सय ४५ जनालाई रोजगार दिएको छ ।