काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएसगै नेपाली बजारमा औषधि अवस्था के हुने भन्ने चिन्ता बढेकाे छ ।
विश्वव्यापी महामारीकाे रूपमा देखिएकाे काेराेना भाइरसका कारणा भारतले औषधी निर्यातमा राेक लगाएकाे हाे ।
तर, नेपाल औषधी उत्पादक संघले भने नेपालमा औषधीकाे अभाव नहुने बताएकाे छ । नेपाली कम्पनीबाट उत्पादित औषधीले करिब १ वर्षसम्मको आन्तरिक माग धान्न सक्ने संघकाे भनाइ छ । संघका अध्यक्ष दिपकप्रसाद दाहालले बजारमा औषधी अभाव नहुने जानकारी दिए ।
‘बजारमा औषधीकाे अभाव हुन्छ कि भन्ने चिन्ता हामीले पनि सुनेका छाैं, तर आत्तिनु पर्ने अवस्था छैन,’ अध्यक्ष दाहालले भने ।
क्वेष्ट फर्मास्यूटिकल्स प्रबन्ध निर्देशक तथा उद्योग बाणिज्या महासघंका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भारतले औषधीको निर्यातमा प्रतिबन्ध लगाउदैमा नेपाली उत्पादन नै नहुने वा बजारमा औषधीकाे अभाव नहुने बताए ।
‘औषधी उत्पादनका लागि कच्चा पदार्थ भारतमा मात्रै पाइने भन्ने हैन, अन्य देशहरुबाट पनि कच्चा पदार्थ ल्याएर औषधी उत्पादन गर्न सकिन्छ, हामीसगँ भएको कच्चा पदार्थबाट औषधी उत्पादन गर्दा पनि करिब १ वर्ष धान्छ,’ श्रेष्ठले भने ।
देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले निजी क्षेत्र र सरकार मिलेर अगाडी बढ्न सकिने बताए । एउटा क्षेत्रले मात्रै लागेर आत्मनिभर बनाउन कठिन हुने उनकाे भनाइ छ । तर, उनले औषधीकाे मूल्य बढ्न सक्ने जानकारी गराए ।
‘कोरोनाको असरले नेपाली बजारमा औषधीकाे मूल्य ५ देखि १० प्रतिशतसम्म वृद्धि हुन सक्छ,’ शर्माले भने ।
औषधिमा भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन बी कप्लेक्स सहित अन्य २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो । कोरोनाविरुद्ध लडाईंकाे क्रममा आवश्यक पर्ने औषधी निर्यात गरे आन्तरिक बजारमा चरम अभाव हुने भन्दै भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
औषधि व्यवस्था विभाका सूचना अधिकारी सन्तोष केसीले नेपालमा रहेको स्टक औषधीले आगामी ५ महिना र कच्चा पदार्थबाट औषधी उत्पदा गर्दा ४ महिना धान्ने बताए । भारतले गरेको निर्णय कडाइसाथ लागू भए पनि आउँदो तीन/चार महीनासम्मको लागि नेपाली बजारमा औषधिको अभाव नहुने उनको दाबी छ ।
नेपालले आवश्यक अधिकांश औषधी भारतबाट आयात गर्दै आएको छ । त्यसमा पनि भारतले दैनिक जीवनमा अत्यावश्यक औषधी र त्यसको कच्चा पदार्थ निर्यातसमेत बन्द गरेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने आकलन गरिएकाे छ ।
भारतले केही एन्टिबायोटिक्स र भिटामिनहरू तथा प्यारासिटामोलको निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी भिटामिन बी १, भिटामिन बी २, भिटामिन बी ६, भिटामिन बी १२ र ती औषधि उत्पादनका लागि आवश्यक पर्ने रसायनको निर्यातमा समेत रोक लगाइएको छ । प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट, २१ फागुनदेखि नै भारतले सीमानाकामा औषधि रोक्न थालेको छ ।