काठमाडौं । देशमा कुनै आपत-विपत परेको समयका लागि भनेर निजी तथा कर्पोरेट क्षेत्रहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बजेट छुट्टाइएको हुन्छ । नागरिकको भलाईका निम्ति उनीहरुले आफ्नो क्षेत्रबाट हुन सक्ने सहयोग पनि गर्छन् र गर्दै आएका पनि छन् ।
तर, यतिखेर भने कर्पोरेट क्षेत्र मौन छ । देशमा मात्र होइन, विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले सबैमा त्रास ल्याएको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण नदेखिए पनि यसको त्रास भने नागरिकमा व्याप्त छ ।
सरकारले कोरोनाको जोखिमबाट बच्न र यसको न्यूनिकरणका लागि विभिन्न उपाय तथा सचेतनामुलुक सन्देशहरु जारी गरिरहँदा निजी क्षेत्र भने मौन देखिएको हो । उल्टै उनीहरु सरकारकै भरमा परेको धारणा राख्छन् ।
रोग लागेपछि उपचार गर्नु भन्दा पूर्व सतर्कता अपनाउनु नै उचित भन्ने उदाहरण नै छ । तर, निजी क्षेत्रहरु भने हाल नेपालमा कोरोनाको संक्रमण नदेखिएकोले आफुहरुले त्यस्तो कूनै उपाय तथा कार्य नसोचेको बताउँछन् ।
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले हालसम्म महासंघले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कूनै कार्य गर्ने नसोचेको बताए । तर, उनले अब छिट्टै बैठक राखेर के काम गर्ने भन्ने बारे निर्णय गर्ने बताए ।
मूख्य रुपमा महासंघको एसोसिएट मेम्बर्सले यो काम गर्ने उत्तरदायित्व भएको भएपनि हालसम्म कुनै निर्णय नभएको उनको भनाइ छ । विश्वमा कोरोनाको संक्रमण भएर ३ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको अवस्थामा नेपालका कर्पोरेट क्षेत्र भने कोरोनाप्रति त्यति चिन्तित नभएको देखिन्छन् ।
यद्यपी उनीहरुले संस्थाले गर्ने सम्पूर्ण सार्वजनिक भेलाका कार्यक्रमहरु स्थगित गरेको बताउँछन् । यस्तै, नेपाल बैंकर्स् संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नागरिकका लागि भनेर संस्थागत हिसावले खासै केही काम नगरे पनि आन्तरिक तयारी र सूचना आदानप्रदान गर्ने काम भने गरिरहेका बताए ।
हालसम्म कुनै संक्रमण नदेखिएको कारण पनि के गर्ने भन्ने निर्णय नभएको उनको भनाइ छ । नेपालका सबैभन्दा ठूला निजी क्षेत्रहरुले यस्तो संकटको समयमा हुने समस्या तथा चूनौतीहरुलाई समाधान तथा सामना गर्नका लागि गर्नु पर्ने पूर्व तयारी गर्नु पर्ने अवस्थामा यी कर्पोरेट क्षेत्र भने कोरोना आउला र लागौंला भन्ने मनसायमा देखिन्छन् ।
उनीहरुले यसको पूर्व तयारी र नागरिकको जानकारी तथा सचेतनाका लागि कूनै पनि कार्य हाल सम्म गरेका छैनन् । नेपाल उद्योग परिसंघका महानिर्देशक यादव प्रसाद पौडेलको भनाइ पनि अन्य कर्पोरेट क्षेत्रको भन्दा कम छैन ।
‘हामीले अहिले सम्म आन्तरिक केही काम गरेका छैनौं, नागरिक जागरुताका लागि नोटिस निकालौं कि भन्ने सोचका छौं, कोरोना हालसम्म नदेखिएकै कारण पनि केही गर्ने अवस्था छैन,’ पौडेलले भने ।
‘कारोनाको संक्रमण नेपालमा छैन, हामीले नोटिस जारी गर्यो भने जनमानसमा भयानक होकी भन्ने भ्रम पनि हुन्छ, त्यस कारण पनि हामी रोकिएका छौं,’ उनले भने । परिसंघले गर्ने सम्पूर्ण कार्यक्रमहरु रद्ध गरेको उनको भनाइ छ । आफ्नो नेटवर्क भएको व्यवसायीसँग कूरा भइरहेको उनले बताए ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा भइरहँदा जनजीवन र विश्व अर्थतन्त्रलाई पनि नराम्रो तरिकाले असर परेको छ । यतिखेर नै विभिन्न सामान तथा वस्तुहरुमा ब्ल्याकमेलिङ पनि सुरु भएको छ ।
व्यापार व्यवसायका नाममा विभिन्न गिरोह यस्तो व्ल्याकमेलिङमा सक्रिय भएको छ । नेपालमा पनि पछिल्लो समयमा यस्तो गिरोह सक्रिय भएको देख्न सकिन्छ । मानिसमा कोरोनाको त्रास बढेसँगै यतिखेर मास्कको माग पनि बढ्दो छ ।
तर, त्यही गिरोहले माक्स लुकाएर यसको ब्ल्याक मेलिङ सुरु गरिसकेका छन् । पाँच रुपैयाँ पर्ने माक्सको ३०/४० रुपैयाँ पर्ने गरेको छ । अझ यसको अभाव छ भनेर सेवाग्राहीलाई ठग्ने काम पनि फष्टाएको छ ।
नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र बज्राचार्य नै माक्समा ब्ल्याकमेलिङ भएको स्वीकार्छन् । हाल बजारमा कूनै सामानको अभाव नभएपनि यस्ता गिरोहको कारण बजारमा वस्तुको कृतिम अभाव देखाइएको उनी बताउँछन् ।
उसो त सरकारले त्यस्तो कार्य गर्ने विभिन्न फर्महरुलाई कारबाही गरी सकेको छ । अझैँ पनि त्यस्ता ब्ल्याकमेलिङ गर्ने गिरोहहरु प्रयाप्त छन् । आफुहरुको काम बजारमा वस्तु आपुर्ति गराउने भएको भन्दै कूनै कारण बाहेक उनले त्यस्ता सामान आयातमा कुनै समस्या नदेखाउने बताए ।
यसमा पनि सरकारले बढी सजग हुनु पर्ने उनको भनाइ छ । यो संकटको समयमा सबैले हातेमालो गरी कोरोनाको जोखिमबाट बच्ने हो । नेपाललाई कोरोना भाइरसको जोखिममुक्त पार्नु सरकार र सबै निजी क्षेत्रको उत्तरदायित्व उत्तिकै हुन्छ ।
नागरिकको स्वास्थ्य र प्रत्यक्ष जीवनसँग जोडिएको यो चुनौतिपूर्ण घडिमा निहित स्वार्थका लागि सामान तथा वस्तुमा ब्ल्याकमेलिङ गर्नु मानवता मान्न सकिँदैन ।