काठमाडौं । नेपाल औषधी उत्पादक संघले कुनै पनि अवस्थामा औषधीको अभाव हुन नदिने बताएको छ । संघले जुनसुकै देशबाट कच्चा पदार्थ आयत गर्न सक्ने र कुनै पनि अवस्थामा औषधीको अभाव हुन नदिने बताएको हो ।
नेपालले चीन र भारतबाट सबैभन्दा बढि कच्चा पदार्थ आयत गर्दछ । तर, अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा भारतले २६ वटा कच्चा पदार्थ र उत्पादनमा रोक लगाएको छ ।
भारतले निर्यातमा रोक लगाएपछि नेपालमा हाहाकार हुने भन्ने सरोकारवालाहरुको प्रश्नलाई प्रस्ट पार्दै संघले चीनबाट अझैं पनि कच्चा पदार्थ आइरहेको र अन्य देशबाट पनि आयत गर्न सक्ने बताएका हो ।
संघका महासचिव अधिकारीले चीन र भारतबाट कच्चा पदार्थ आयत गर्न सजिलो भएको कारण मात्र त्यहाँबाट सामान आयत गरेकाे बताए । यसको मतलब नेपाल अन्य देशबाट पनि आयत गर्न सक्दैनौं भन्ने नभएकाे उनकाे धारणा छ ।
यस्तै, आफुहरुसँग ३ महिनाको लागि बनिसकेको औषधी र बाँकी ३ महिनाको लागि औषधी बनाउने कच्चा पदार्थ भएको संघले जनाएकाे छ ।
नीतिगत रुपमा नेपाल औषधी बनाउन आत्मनिर्भर छ तर व्यावहारिक पाटोमा विदेशी कम्पनिहरुलाई औषधी उत्पादन गर्न दिने सरकारलाई संघले आरोप पनि लगाएको छ ।
आफुसँग ७५ प्रतिशत औषधी उत्पादन गर्न सक्ने क्षमता भएको तर सरकारले ४५ प्रतिशत मात्र बजार दिएको आरोप उनीहरुको छ ।