काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमको राष्ट्रमा राखिसकेपछि सबैतर्फ सर्तकता अपनाउन सुरु गरिएको छ । अहिले सरकारको ध्यान देशभित्र कोरोना छिर्न नदिन केन्द्रित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यो भाइरस बाहिरबाट आउने भएकोले विदेशबाटबाट आएका यात्रुहरुमा केन्द्रित गरेर काम गरिरहेका बताए । उनले हवाई यात्रामार्फत धेरै यात्रु नेपाल भित्रिने भएकोले त्रिभुवन अन्तार्रष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर काम स्वास्थ्य चेकजाँच गरिरहेका बताए ।
माघ १ गते देखि त्रिभुव हेल्थ डेस्क
हवाई यात्रुहरुलाई चेकजाँच गर्नको लागि मन्त्रालयले विमानस्थलमा माघ १ गतेदेखि हेल्थ डेस्क संचालन गरेको छ । सुरुमा हेल्थ डेस्कमा १ जना डाक्टर राखिएको थियो । अहिले मन्त्रालयले १९ जना कर्मचारी खटाइएको छ । यात्रुहरुलाई चेकजाँच गर्नको लागि विमानस्थालमा दुइटा थर्मल स्क्यानर र ६ वटा ईन्फ्रारेड थर्मामिटर राखिएको छ ।
यात्रुको शरीरको १०० डिग्री फरनहाइटभन्दा माथिको तापक्रम थर्मल स्क्यानरले आफै नाप्ने हुनाले एयरपोर्ट हेल्थडेस्कले यसअघि स्कयानरबाट यात्रु पास हुँदा शरीरको तापक्रम बढी भएको अवस्थामा मात्र यात्रुहरुलाई छुट्टै बोलाएर परिक्षण गर्न गरेको थियो ।
तर, मानिसमा एयरपोर्टमा हेल्थ डेस्कले केही पनि जाँच गरेन भन्ने कुरा बाहिर आईसकेपछि मन्त्रलायले आइतबारदेखि यात्रुलाई विश्वास दिलाउन एक एक यात्रुलाई ह्याण्ड जाँच गरेर पठाउन सुरु गरेको छ ।
नाका–नाकामा चिकित्सक
देवकोटाले मन्त्रालयले देशभरका ३७ नाकामा चिकित्सक पठाएको बताए । यसअघि स्वास्थ्यकर्मीहरुले मात्र नाकाहरुमा चेकजाँच गरिरहेका थिए । त्यससँगै हरेक प्रदेशमा मन्त्रलायले स्वास्थ्य सेवा विभागको टोलीहरु सम्बन्धित सामाग्री सहित गइसकेका छन् ।
उनीहरुले प्रादेशिक सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरेर भारत छुने नाकाहरुमा निगरानी बढाइएको देवकोटाले जानकारी दिए ।
परीक्षणका लागि अस्पताल तयार
कोरोना देखि हालेको अवस्थामा मन्त्रालयले विभिन्न अस्पताहरुमा आइसोलेसन बेडको व्यवस्था गरेको छ । मन्त्रालयले शुक्रराज ट्रपिकल अस्पताललाई ४० बेडसहित पहिलो सुचीमा राखेको छ । यसबाहेक नेपालका सबै ठूला अस्पतालहरुलाई मन्त्रालयले हब अस्पतालको रुपमा राखेको छ ।
मन्त्रलायले ५ वटा हब र ३६ वटा स्याटेलाइट अस्पताल तोकेको छ । विरेन्द्र सैनिक अस्पताल,पाटन अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल तथा त्रिवि शिक्षण अस्पताल गरी ५ वटा हब अस्पतालका रुपमा तोकिएका छन् । स्याटलाइट अस्पतालका रुपमा कीर्तिपुर अस्पताल, नेपाल मेडिकल कलेज, नर्भिक हस्पिटल, स्टार हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल आदि गरी ३६ वटा अस्पताल रहेका छन् ।
भक्तपुरमा क्वारेन्टाईन
भक्तपुरको खरिपाटीमा सरकारले चीनको वुहानबाट ल्याइएका १ सय ७५ विद्यार्थीहरुलाई हालै बिदाई गरेको छ । उक्त स्थानलाई क्वारेन्टाईनकै रुपमा राख्ने सरकारले निर्णय गरेको छ ।
टेकुमा मात्र परीक्षण गर्ने ल्याब
हाल कोरोनाको परीक्षण गर्ने ल्याब टेकुमा मात्र रहेको छ । टेकुको राष्ट्रिय स्वास्थ्य जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गरिन्छ । हालको लागि परिक्षण शुल्क निः शुल्क रहेको छ । २४ घण्टा देखि ४८ घण्टाको अवधीमा यसको नतिजा आउने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् ।
बजारबाट मास्क संकलन शुरु
बजारमा मास्क पाउन छाडेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारबाट मास्क संकलन गरी मास्कको भण्डारण सुरु गरेको छ । औषधी व्यवस्था विभागसँगको समन्वयमा मन्त्रालयले मास्क संकलन गरी भण्डारण सुरु गरेको हो । मन्त्रलायले पहिलो दिन २५ हजार मास्क संकलन गरेको प्रवक्ता विकास देवकोटाले बताए ।
नेपालमा मास्क उत्पादन गर्ने ३ वटा कम्पनी रहेका छन् । नेपाल आफ्नै भने मास्क उत्पादन गर्न क्षमता एकदमै न्यून छ अझ त्यसमाथि मास्क बन्ने कच्चा पदार्थ पनि बाहिरबाट आउने भएकोले मास्क उत्पादन झनै कम भएको र बजारमा नदेखिएको देवकोटाको भनाइ छ ।
चीनबाट नेपालले सबैभन्दा धेरै मास्क आयात गर्छ । भारतबाट पनि नेपालले मास्क आयत गर्दछ । तर, त्यहाँ पनि चीनबाट नै आयत हुने भएकोले सबैतर्फ मास्कको समस्या देखिएको हो ।
पोखरामा ६० आईसोलेसन बेड निर्माण
सम्भावित जोखिम नियन्त्रणको लागि गण्डकी सरकारले पोखराको विभिन्न अस्पतालको समन्वयमा ४ दर्जनभन्दा बढी बेड तयारी अवस्थामा राखेको छ ।
पोखराको चिवेक अस्पतालमा २७, गण्डकी मेडिकल कलेजमा १५, मनिपाल अस्पतालमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तगर्त पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ३ बेड तयारी अवस्थामा राखेको छ । यस्तै, चिकित्सकहरुलाई तालिम दिने तयारी गण्डकी प्रदेशले गरिरहेको छ ।
ं