
काठमाडौं । अब विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएकाे छ । शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने बताएकाे हाे । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गर्ने जनाएकाे छ ।
विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि यी प्रावधान लागू हुनेछन् । शनिबारदेखि नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागले प्रष्ट पारेको छ ।
यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने जनाइएको छ । विभागका अनुसार कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ निलम्बन गरिएको छ ।
पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ । गैरआवासीय नेपालीका हकमा पनि यो प्रावधान लागू हुने विभागले जनाएको छ ।
