काठमाडौं । कसैलाई मोवाइलमा फोन गर्नुभयो भने रिङव्याक टोनमा कोरोना भाइरस संक्रमणबाट कसरी बच्ने भन्ने सन्देश आउँछ । सन्देशको अन्तिमतिर ‘गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्नुहोस’ भन्ने सुझाव पनि सुन्न सकिन्छ ।
तर, बजारमा स्यानिजाइजरको अभाव छ । भएका स्यानिटाइजरको गुणस्तरका हिसावले ढुुक्क हुन सक्ने अवस्था छैन । बजारमा पाइने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको मापदण्ड अनुसारका स्यानिटाइजर छन कि छैनन् भनेर आश्वास्त हुन सक्ने अवस्था पनि छैन ।
कोरोना भाइरसबाट बच्न स्यानिटाइर राम्रो विकल्प हो । स्यानिटाइजरभन्दा राम्रो विकल्प साबुन पानीले हात धुनु हो भने जनस्वास्थ्यविज्ञहरुले भनिरहेका छन् । तर साबुनपानी नपाएको अवस्थामा विकल्पको रुपमा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।
साबुनपानी नभएको र स्यानिटाइजर पनि नपाएको अवस्थामा के गर्ने त ? यस्तो फसाद पर्यो भने नेपालभरका अधिकांश किराना पसलमा पाइने सन्चो अर्काे उपयुक्त विकल्प हुन सक्छ ।
सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गर्ने सन्चोमा एटी व्याक्टेरियल तथा एन्टी भाइरसयुक्त वनस्पतीको तेल मिलाइएकोले स्यानिटाइजरको विकल्पको रुपमा प्रयोग गर्न सकिने कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्की बताउँछन् ।
‘सन्चोमा विभिन्न प्रकारका वनस्पतीहरुको तेलको समिश्रण हुन्छ, ती वनस्पतीका तेलले एन्टी व्याक्टेरियल र एन्टी भाइरल काम गर्ने प्रमाणित भइसकेको छ, त्यसैले सन्चोले स्यानिटाइजरकै काम गर्छ भनेर दाबी गर्न त सकिदैन तर एन्टी भाइरल र एन्टी व्याक्टेरियल गुण भएका वनस्पतीको तेल भएकोले स्यानिटाइजरको काम गर्छ भनेर सिफारिस गर्न सकिन्छ,’ महाप्रबन्धक कार्कीले विकासन्युजसँग भने ।
सन्चोले स्यानिटाइजरको काम गर्छ भनेर दाबी गर्न नसकिनुका पछाडिका कारण पनि महाप्रबन्धक कार्कीले खुलाए ।
‘हामी सरकारी स्वामित्वको कम्पनी हौं, स्यानिटाइजरको लागि कुन कुन वस्तु कति मात्रामा राखेर बनाउनु पर्छ भनेर डब्लुएचओले मापदण्ड तोकेको छ, सो मापदण्ड अनुसारको केमिकल सन्चोमा मिसाइएको हुँदैन, सन्चोले स्यानिटाइजरको काम गर्छ भनेर डब्लुएचओले मान्यता दिएको कुनै ल्यावबाट परीक्षण गरेर प्रमाणित भएको पनि छैन, त्यसैले स्यानिटाइजरको काम गर्छ भनेर दाबी गर्न हामीलाई केही अप्ठेरो छ,’ कार्कीले भने ।
स्यानिटाइजरमा रहेको ७० प्रतिशतभन्दा बढी मात्राको अल्कोहल लगाएर हात मिच्दा हातमा भएका व्याक्टेरिया तथा भाइरस मर्छन भन्ने कारणले स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिइएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहाल बताउँछन् । नेपाली उत्पादनले व्याक्टेरिया तथा भाइरस संक्रमण रोक्न सक्ने क्षमता राख्छन् भने त्यस्ता उत्पादनलाई स्यानिटाइजर नाम नदिइ पनि प्रयोग गर्न सकिने दाहालको भनाइ छ ।
नेपालमा पाइने मसल, मेन्था, सिट्रोनला जस्ता वनस्पतीको तेलमा एन्टी व्याक्टेरियल तथा एन्टी भाइरल गुण हुन वनस्पती विभागका महानिर्देशक धनन्जय पौडेल बताउँछन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गर्ने सन्चोमा पनि यस्तै बनस्पतीको तेल मिसाउने गरिएकोले स्यानिटाइजरको रुपमा प्रयोग गर्न सकिने कम्पनीका महाप्रबन्धक कार्कीको भनाइ छ ।
सम्बन्धित सामग्री