औषधि ६ महिनालाई ढुक्क, स्वदेशी उद्योगलाई नयाँ अवसर

<p>काठमाडौं । कोरोना महामारी र लकडाउनको बीचमा पनि औषधि उद्योगहरु सेवामा तल्लिन रहेको देखिएका छन् । औषधि व्यवस्था विभाग र औषधि उत्पादकहरुका अनुसार अब कम्तिमा ६ महिना बजारमा औषधिकाे अभाव हुने छैन । अवस्था जटिल भएपनि औषधि उद्योगहरुले काम गरिरहेको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लप अधिकारीले बताए । कोरोना संक्रमणको त्रासका कारण कर्मचारीहरु उद्योगमा [&hellip;]</p>

काठमाडौं । कोरोना महामारी र लकडाउनको बीचमा पनि औषधि उद्योगहरु सेवामा तल्लिन रहेको देखिएका छन् । औषधि व्यवस्था विभाग र औषधि उत्पादकहरुका अनुसार अब कम्तिमा ६ महिना बजारमा औषधिकाे अभाव हुने छैन ।

अवस्था जटिल भएपनि औषधि उद्योगहरुले काम गरिरहेको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लप अधिकारीले बताए । कोरोना संक्रमणको त्रासका कारण कर्मचारीहरु उद्योगमा आउन नचाहाने, यातायातको सुविधा नहुँदा छरिएर रहेका कर्मचारी उद्योगसम्म पुग्न कठिन हुने, गृहमन्त्रालयले पास नदिने तर प्रहरीले औषधि ढुवानीको सवारीसमेतमा अवरोध गर्ने समस्याहरु रहेपनि औषधि व्यवासायीहरुले काम गरिरहेको उनले बताए ।

उद्योग चलाउन सबै सिस्टमले काम गर्नु पर्नेमा अहिलेको अवस्थामा औषधि उद्योग नियमित चलाउन कठिन भएको देउराली जनता फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हरिभक्त शर्मा बताउँछन् । ‘कर्मचारीलाई कसरी सुरक्षित राख्ने भन्ने छ चिन्ता । उद्योगहरुले सबै कर्मचारीलाई आवासीय सुविधा दिन सकेका छैनन् । कर्मचारीहरु चारतिर बस्छन्, मान्छे जुटाउन गाह्रो छ’ उनले भने ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि वितरण प्रणालीमा केही समस्या देखिएको र ती समस्या समाधानको लागि सरकारी प्रयास भईरहेको बताए ।

उनले अहिले मुख्य रुपमा तीन प्रकारका समस्या रहेको बताए । ‘आपूर्ति प्रणालीमा केही अवरोधहरु छन् । लक डाउनले कर्मचारी परिचालन कठिन भएको छ’, उनले भने- ‘यी समस्या तत्काल समाधान गर्न सकिएन भने निश्चित वर्गको औषधिको माग धान्न कठिन हुनेछ ।’ सरुवा रोगहरु धेरै फैलिएमा एन्टिवाइटिक लगायत केहि औषधिको माग धेरै बढ्न सक्ने उनले बताए ।

तर तत्काल औषधिको अभाव नभएकाे उनले बताए । ‘करिब ३ महिनाका लागि पुग्ने कच्चा पदार्थ र करिब तीन महिनाको लागि पुग्ने तयारी उत्पादन स्टकमा छ भनेर उद्योगीहरुले भनेका छन्’ उनले भने । इन्स्युलिनसहित केही आयातित औषधिको उपलब्धता नियमित गराउने चुनौति रहेको उनले बताए ।

स्वदेशी उद्योगलाई अवसर

ठूला संकटले केही अवसरको ढोका पनि खुला गर्छ । अहिले नेपालका औषधि उद्योगहरुको लागि बजार विस्तार गर्न उपयुक्त समय भएको जानकारहरु बताउछन् ।

विश्वभर स्वास्थ्य सम्बन्धि महामारी भएको, विश्वभर औषधिको माग बढेको, छिमेकी देश भारतले केही औषधि निर्यातमा प्रतिबन्ध लगाएकोले यतिबेला नेपालीभित्रको बजारमा पकड जमाउनको लागि स्वदेशी उद्योगहरुको लागि उपयुक्त अवसर भएको औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल बताउँछन् ।

विश्वभर कोरोना महामारी फैलिएपछि भारतले प्यारासिटामोल, क्लोरो ह्याक्साडिन, क्लोर्याम फेनिकोल, मेट्रोनिडाजोल, हाइड्रोक्लोरोक्वीन लगायतका २० थरीका औषधि निर्यात बन्द गरेको छ । तर यी औषधि बंगलादेशबाट आउन सक्छ ।

‘स्वदेशी उत्पादन भएमा संकटको बेलामा काम लाग्छन् भन्ने नीति निर्माताको भोगाई छ । उद्योगीहरुले बुद्धि पुराए भने अहिले नेपाली उद्योगले बजार लिने समय हो’ उनले भने । तर उद्यमीहरु सरकारले सहयोग गरेन भनेर गुनासो मात्र गर्ने, आफू जोखिम लिएर काम नगर्ने प्रवृति हावी रहेकाे भन्दै उद्योगीको आलोचना गरे ।

२०७२ सालको भूकम्प र नाकाबन्दीपछिको अवस्थामा पनि स्वदेशी उद्योगलाई बजारमा पकड जमाउने अवसर थियो । संकटको बेलामा उद्योगीहरुले काम नगर्दा र अवस्था सहज भएपछि फेरि विदेशी सामान प्रशस्त आउन थालेपछि स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको उनको विश्लेषण छ ।

नयाँ प्रयासहरु

पछिल्लो समय कोरोनाका विरामीमा समेत प्रयोग गर्न सकिने हाइड्रोक्सिक्लोरिक्वीन र एजिथ्रोमाइसिन औषधि नेपालभित्र नै बन्न थालेको उनले बताए । ‘देउराली जनता फर्मास्यूटिकल्ससहित ३ वटा उद्योगले हाइड्रोक्सिक्लोरिक्वीन उत्पादन गर्न अनुमति लिएका छन् । एजिथ्रोमाइसिन करिब ३० उद्योगले बनाउँछन् । अरु देशमा पनि आयात हुन्छ । हामीलाई समस्या हुन्न’ उनले भने ।

सबैभन्दा खराव अवस्थामा कोरोना संक्रमित र सघन उपचार आवश्यक पर्ने नेपालीको संख्या १२ हजार पुग्न सक्ने अन्तर्राष्ट्रिय संस्थाहरुले आँकलन गरेको र त्यसैलाई आधार मानेर सरकारले यस्तो विरामीको उपचारमा अमेरिका, भारतले प्रयोग गरेका हाइड्रोक्सिक्लोरिक्वीन र एजिथ्रोमाइसिन औषधि उत्पादन गरी तयारी अवस्थामा राख्ने औषधि व्यवसायीहरुलाई निर्देशन दिएको सरकारी अधिकारीहरुको भनाई छ ।

हाल देउराली जनता फर्मास्यूटिकल्सले हाइड्रोक्सिक्लोरिक्वीन ४ लाख ट्यावलेट तयार गरेर राखेको छ । उक्त औषधिले कोरोना संक्रमित गम्भिर प्रकृतिको १५००० विरामीको उपचार गर्न पुग्ने छ ।

उक्त औषधि देउराली जनताले सरकारलाई सहयोग स्वरुप सित्तैमा दिने जनाएको छ । अप्ठ्यारो अवस्थामा नेपाली दिदीभाई दाजुबहिनीको उपचारमा राहात पुगोस् र सरकारलाई पनि सहयोग होस् भनेर ती औषधि निःशुल्क दिन लागेको उक्त कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताए ।

अमेरिकाबाट समेत हाइड्रोक्सिक्लोरिक्वीन माग भएको तर कच्चा पदार्थको अभावका कारण नयाँ उत्पादन कठिन भएको उनले बताए । ‘एक त कच्चा पदार्थ नै पाइदैन । दोस्रो, १०० डलर पर्ने कच्चा पदार्थको मूल्य ८००/९०० पुगिसक्यो । तेस्रो, विदेशबाट सामान ल्याउन ढुवानीको साधन चलेका छैनन्’ उनले भने ।

हाइड्रोक्सिक्लोरिक्वीन सार्सको उपचारमा प्रयोग भएको, छालासम्बन्धि एक प्रकारको रोगको उपचारमा पनि प्रयोग हुने भएकोले यो औषधि आफूहरुले पहिलेदेखि नै बनाउँदै आएको उनले बताए ।

औषधिजन्य उत्पादन

पछिल्लो समय स्नीटाईजर, डिसइन्पेक्टेड, माक्स जस्तो औषधिजन्य उत्पादन पनि शुरु भएका छन । फागुन ९ गते मात्र १२ वटा औषधि उद्योगले स्यानिटाईजर उत्पादन अनुमति पाएका छन् । महाबीर पुनले नेतृत्व गरेको नेपाल आविष्कार केन्द्रले पीपीई उत्पादनको प्रयास गरिरहेको छ । यसका लागि प्रविधि ल्याउन, कच्चा पदार्थ ल्याउन, दक्ष जनशक्ति जुटाउन निकै कठिन काम भएको अनुभवीहरु बताउँछन् ।

नेपाली उद्योगहरु पूर्ण क्षमतामा चल्ने हो भने ७५ प्रतिशत औषधिमा उत्पादन नेपाली औषधि उद्योगले नै गर्न सक्ने नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी बताउँछन् । तर अहिले पनि नेपालमा खपत हुने औषधिको ५५ प्रतिशत हिस्सा विदेशी औषधिले लिएको उनले बताए ।

कच्चा पदार्थमा मूल्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य धेरै बढेकोले निकट भविष्यमा औषधिको मूल्य वृद्धि हुने सक्ने औषधि उत्पादक कम्पनी सिम्का ल्याब्रोटोरिजका सेल्स म्यानेजर दीपराज दवाडी बताउँछन् । औषधिको कच्चा पदार्थको विश्वभरमा चीनले मात्र ६५ प्रतिशत हिस्सा लिएको, शुरुमै चीनमा कोराना महामारी फैलिएको र चीनबाट निर्यात असहज भएकोले कच्चा पदार्थको आपूर्ति कम भएको तर बजारमा माग बढेकोले २० देखि ३५ प्रतिशतसम्म कच्चा पदार्थको मूल्य वृद्धि भएको उनले बताए ।

कच्चा पदार्थको मूल्य वृद्धि भए पनि तत्काल नेपालका औषधि उद्योगहरुले मूल्य वृद्धि नगर्ने औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी बताउँछन् । चाइना लकडाउनमा गएपछि विश्वभर औषधिकाे मूल्य बढेको उनले बताए ।

अहिले भएको कच्चा पदार्थको मूल्यवृद्धि अस्थायी प्रकृतिको भएको र निकट भविष्यमा मूल्य धेरै नै घट्न सक्ने औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको तर्क छ । ‘कच्चा पदार्थको मूल्य नबढ्न पनि सक्छ किनकी पेट्रोलियम पदार्थ मूल्यमा भारी गिरावट आएको छ’ उनले भने-यसले कच्चा पदार्थको मूल्य र ढुवानी लागत दुबै घटाउँछ ।’

Share News