काठमाडौं । कोरोना संकटपछि नेपालको स्वास्थ्य सेवाको अवधारणा परिवर्तन हुने देखिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले देशभर लागू गरेको लकडाउनको समयमा सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालको सेवा नै प्रभावकारी देखिएपछि यो क्षेत्रमा सरकारको उपस्थिति बढ्ने देखिएको हो ।
स्वास्थ्य क्षेत्रमा रहेका कमी कमजोरीलाई कोरोना भाईरस संक्रमण रोकथामको क्रममा स्पष्ट देखिएको हो । यस्तो कमजोरीमध्येमा स्वास्थ्य सेवा क्षेत्रमा सरकारको उपस्थिति कम भएको महसुस सरोकारवालाले गरेका छन् ।
२०७७ सालको सुरुवात पक्कै पनि राम्रो भएको छैन तर यो संकटले अब सरकारलाई स्वास्थ्य क्षेत्रमा आफ्नो उपस्थिति बढाउन दबाब दिएको महसुस गरिएको छ ।
सरकारले स्वास्थ्य क्षेत्रको लागि लगानी बढाउनु पर्ने पूर्व स्वास्थ सचिव दीर्घसिंह बमको भनाइ छ । सरकारले चालु आवको लागि ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
‘सरकारले अब स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ, कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्दछ,’ पूर्वसचिव बमले भने । सरकारले चालु आर्थिक वर्षमा कूल बजेटको ४ दशमलब ४८ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रको लागि छुट्टयाएको थियो ।
सरकारी अस्पतालहरुमा भौतिक संरचनाहरु तयारी अवस्था रहनुपर्ने र सामान्य भन्दा सामान्य विषयहरुमा जनचेतना अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिरहनुपर्ने बम बताउँछन् । सरकारले स्वास्थ्य सेवा क्षेत्रमा आवश्यकता अनुसार ध्यान नदिएको उनको भनाइ छ ।
‘देश संघीय संरचनामा गएको छ तर प्रदेशमा स्वास्थ्य मन्त्रालय छैन । त्योभन्दा तलको स्थानीय तहमा राम्रोसँग काम गर्न सक्ने टोली छैन । त्यसैले सरकारले आगामी आर्थिक वर्षलाई स्वास्थ्य सेवाको गुणस्तर अभिबृद्धि गर्ने वर्षका रुपमा लिएर काम गर्नुपर्छ,’ पूर्वसचिव बमले भने ।
अहिले देखिएको कोरोना भाइरस जस्ता संक्रमण फेरि दोहोरिन सक्ने भएकोले सरकारले आवश्यक तयारी गर्न जरुरी भएको उनको भनाइ छ ।
उनले नेपालको भौगोलिक र वातावरणीय अवस्था अनुसार कुन क्षेत्रमा के कस्तो प्रकारको रोग वा संक्रमणको खतरा बढी छ, त्यस्तो क्षेत्रमा सोही प्रकारको विशेष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने सुझाव दिए । देशभरका सबै अस्पतालहरुमा एक वर्षको लागि पुग्ने लजिष्टिक सरसामान तयारी अवस्थामा राखिनुपर्ने पनि उनको भनाइ छ ।
सरकारी अस्पतालहरुको स्तरोन्नति अति आवश्यक रहेकोले सोही अनुसारको तयारी आवश्यक रहेको परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम बताउँछन् ।
सरकारी अस्पतालहरु अब बाहिरबाट हेर्दा मात्र चिटिक्क र सफा होईन, भित्र पनि उत्तिक्कै सफा हुनुपर्छ । अस्पतालको क्यानिटन, बेड, ल्याब, शौचालय सबै उत्तिकै सफा हुन आवश्यक छ,’ उनले भने ।
उनले सर्वसाधारणको समय बरबाद हुने गरी लाग्ने गरेको लामो लाईन, दिउँसो मात्रै दिने सेवा र एउटा अप्रेसन गर्नको लागि महिनौं कुर्नपर्न बाध्यतालाई हटाई २०७७ लाई सरकारी अस्पतालहरुको स्तरोन्नति वर्षको रुपमा मनाउन आवश्यक रहेको बताए ।
आपत परेको बेला मात्र डाक्टर र हस्पिटललाई सम्झनुभन्दा अहिलेबाट नै स्वास्थ्य क्षेत्रमा लगानी बढाई, सुविधासम्पन्न अस्पतालहरु निमार्ण गरी जनशक्तिहरुलाई सही व्यवस्थापन गर्न आवश्यक रहेको गौतमले बताए ।
विश्व स्वास्थ्य संगठनले पनि कुल ग्राहस्र्थ उत्पादनको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा लगानी गरेपछि मात्र स्वास्थ्य क्षेत्रमा सुधार आउने सुझाव दिएको गौतम बताउँछन् ।
२०७७ सालमा सरकारले स्वास्थ्य क्षेत्रमा कोरोनाले गर्दा रोकिएका विगतका लक्ष्यहरुलाई अगाडी बढाउनुपर्ने पूर्व स्वास्थ्य सचिव खगराज बरालले बताए ।
‘विगतमा हेर्दा माघ–फागुनमा बजेट रफ्तारको साथ कार्यनयन हुन्थ्यो तर अहिले सबै ठप्प छ । त्यसैले यो महामारी अन्त्य हुने बित्तिकै त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ’, उनले भने ।
सरकारले विगतमा हामीसँग सबै आवश्यक सामाग्री पर्याप्त छन्, हामीसँग अस्पतालहरु व्यवस्थित छन् भनेको सबै गलत साबित भएको बराल बताउँछन् । स्वास्थ्य क्षेत्रमा धेरै कुराको अभाव भएको कोरोनाले देखाएको छ । आफ्नो संयन्त्र कति बलियो बनाउनु पर्छ भनेर सरकारले अब महसुस गर्नुपर्ने उनले बताए ।
‘२०७७ साल सरकारी अस्पताल र त्यसका संयन्त्र बलियो बनाउनतर्फ लाग्नुपर्छ । अन्त्यमा संकटमा काम लाग्ने सरकारी निकाय नै रहेछ भन्ने फेरि पुष्टी भएको छ, सरकारी चिकित्सक र स्वास्थ्यकर्मी, सरकारी सुरक्षाकर्मी, सरकारी कर्मचारी, सरकारी विद्यालय, सरकारी कार्यलयहरु अहिले अवस्थामा प्रयोग भएका छन् । यसको मतलब यो क्षेत्रहरु बलियो हुन कति आवश्यक रहेछ भन्ने सरकारले बुझ्नुपर्छ ।
निजी क्षेत्रले केही सहयोग गर्ने तर अहिलेको अवस्थामा त्यस्तो नदेखिएको हुँदा सरकारले अब स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी बढाउनुपर्ने उनले बताए ।
यस्तै, मानिसहरुमा संक्रमण फैलन सक्ने हुनाले सरकारले सरुवा रोग अस्पताललाई बस्तीभन्दा केही टाढा बनाई सेवा विस्तार गनुपर्न आवश्यक रहेको उनले बताए ।
विशेष गरेर अस्पताल निर्माण र आईसियु बेडहरुमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
२०७७ सालमा मात्र नभएर हरेक वर्ष सरकार कुनै पनि महामारी, विपदहरुको लागि हरदम तयारी अवस्थामा बस्नुपर्ने पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्मा बताउँछन् ।
‘हाम्रो यहाँ पाटन अस्पतालमा ३ वर्षयता संक्रामक रोगहरुको लागि कसरी काम गर्ने भनेर अभ्यास गर्दै आएका थियौं, जसले हामीलाई यो रोग आईपुग्दा केही हिम्मत दिएको थियो । यो हरेक अस्पतालहरुले प्रयोगमा ल्याउनपर्छ । सरकारले पनि यसमा ध्यान दिनुपर्छ,’ उनी भन्छन् ।
संक्रमित बिरामीलाई जाँच्नको लागि स्वास्थ्यकर्मीलाई चाहिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क जस्ता अत्यावश्यक बस्तुको उत्पादनमा नेपाली उत्पादकको ध्यान भर्खर मात्रै गएको छ । स्यानिटाईजरको उत्पादन नेपालमै सुरु गर्नको लागि २० वटा कम्पनी उद्योग विभागमा हालै मात्र दर्ता भएका छन् ।