
काठमाडौं । कैलालीको सेती प्रादेशीक अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक जना युवा आज डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवकले १६ दिन अस्पताल बसाई सकेर आज डिस्चार्ज भएका हुन् ।
उनले अस्पतालबाट घर फर्केने समयमा कोरोनासँग जित्न आत्मविश्वास र हिम्मत चाहिने बताएका छन् । ‘निडरका साथ उपचारमा बसे कोराना जित्न सकिन्छ, मलाई कुनै लक्षण नै देखिएको थिएन, तर मलाई कोरोना पोजेटिभ देखियो, म आत्मबलले उपचारमा बसेँ, म निको भएँ,’ उनले भने ।
कोरोना संक्रमणबाट निको हुन्छु भन्नेमा आफू सुरुवातबाटै पूर्ण विश्वस्त रहेको उनको भनाई छ । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र अस्पतालका डाक्टरहरुले फुल दिएर बिदा गरेका छन्। उनी एम्बुलेन्समा चढेर अस्पतालबाट घर फर्केका हुन्।
गत चैत ११ गते राती कैलालीको गौरीफन्टा नाका भएर भारतको मुम्बईबाट घर फर्किएका थिए। १२ गते विहान घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।त्यसको १५ औं दिनमा उनको दोस्रो र त्यसको २४ घण्टामा गरिएको तेस्रो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीश जोशीले बताए।
उनी डिस्चार्ज भएसँगै अब सेतीमा चार जना संक्रमितको उपचार भइरहेको छ। उनीहरु सबैकाे रिपाेर्ट भने पाेजेटिभ देखिएकाे छ । तर, अवस्था भने सामान्य नै भएकाे असपतालले बताएकाे छ ।