काठमाडौं । भारतमा र्यापिड डायग्नोस्टिक टेस्टको माध्यमबाट कोरोना भाइरसको परीक्षणमा रोक लगाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र आईसीएमआरको तर्फबाट संयुक्त रुपमा भएको पत्रकार सम्मेलनमा आगामी दुई दिनका लागि र्यापिड टेस्टबाट कोरोना परीक्षणमा रोक लगाइने निर्णय गरेको हो ।
आईसीएमआरका डा. रमन गंगाखेडकरले विभिन्न राज्यमा र्यापिड टेस्ट किटबाट लिएको परीक्षणको नतिजा फरक आएसँगै विश्वसनीयतामा प्रश्न उठेको भन्दै अगामी दुई दिन र्यापिड टेस्ट नगर्ने जानकारी दिए ।
आईसीएमआरले गहन छानबिन पछि परीक्षणका लागि निर्देशन जारी गर्ने जानकारी दिँदै सो राज्यमा आफ्नो टोली पठाउन लागेको जनाएको छ ।
पछिल्लो २४ घण्टा यता भारतमा १ हजार १ सय ९३ कोरोना संक्रमित फेलापरेसँगै हालसम्म २० हजार १ सय ७८ जना भारतिय नागरिकमा कोरोना संक्रमित छन् भने ६ सय ४५ जनाको मृत्यु भईसकेको छ ।