काठमाडौं । ‘चितवनको राप्ती नगरपालिकामा बेलायतबाट आएका एकै परिवारका दुई जनामा कोरोनको संक्रमण देखिएको छ ।
भरतपुरस्थित प्रयोगशालामा पिसीआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएपछि अस्पतालले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ ।’
यस्ता प्रकृतिका समाचार अहिले धेरै सुन्न र देख्न थालेका छौं । कहिले जनकपुरधामस्थित प्रादेशिक अस्पताल, कहिले सेती प्रादेशिक अस्पताल धनगढी वा अन्य अस्पतालले ‘पुनः परीक्षणको लागि स्वाब काठमाडौं पठाएको छ’ भन्ने वाक्य जोडिएर आउने गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ७ ओटै प्रदेशमा ७ ओटा तथा चितवन धरान गरी देशभर १५ स्थानमा कोरोना भाइरस संक्रमण भए नभएको यकिन गर्न पिसीआर परीक्षणको व्यवस्था गरिएको छ ।
प्रदेशतहमा गरिएको पिसीआर परीक्षणबाट आएको नतिजा पुनः पिसिआर प्रविधिबाट नै परीक्षणको लागि काठमाडौं पठाउनुपर्ने हो भने प्रदेशतह तथा अन्य स्थानमा हुने गरेको पिसीआर परीक्षणको औचित्य के ? पुनः परीक्षणको लागि किन पठाइन्छ त काठमाडौं ? भन्ने जस्ता जिज्ञासा पनि हुन सक्छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकारीहरु पनि यसको विस्तृत जानकारी औपचारिक रुपमा बताउँन चाहदैनन् । प्रयोगशालाका अधिकारीका अनुसार पिसीआर परीक्षण भनेको धेरै नै जटिल तथा संबेदनशील प्रकृया हो । यसमा अत्यन्त न्युन मात्रामा मेकानिकल, मानवीय अथवा अन्य कुनै पनि प्रकारको भुल बा त्रुटि भएमा पुरै नतिजामा नै फरक पर्ने हुन्छ । कोरोना जस्तो गम्भिर प्रकृतिको संक्रमणमा कुनै पनि एक जाना मात्रको नतिजा गलत आयो भने त्यसबाट संक्रमणको भयाबह परिस्थिति उत्पन्न हुन सक्ने भएकाले कन्फर्मेसनको लागि फरक उपकरण तथा प्राबिधिक प्रयोग गरेर परीक्षण गर्न काठमाडौं ल्याइने गरेको तथा कन्र्फमेसन पछि केहि नमुना डब्लुएचओले समेत पुन परीक्षण गरेर कन्फर्म गर्ने प्रकृया रहेको ती अधिकारीको भनाइ छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मात्र रहेको कन्फर्मेसको अनुमति अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सेती प्रादेशिक अस्पताललाई समेत दिइएको छ । यो पुन परीक्षण गरेर कन्फर्म गर्ने प्रकृया नेपालमा मात्र नभएर विश्वका संम्पूर्ण देशहरुमा रहेको अर्थात यो विश्वव्यापि प्रकृया रहेको समेत रहेको प्रयोगशालाको भनाइ छ ।
केहो पिसीआर परीक्षण
पिसीआर भन्नाले पोलिमरेज चेन रियाक्सन भन्ने बुझिन्छ । पिसीआर भनेको एक एम्पिलिफिकेशन प्रकृया हो । जसमा एउटा टार्गेट आरएनए वा डिएनएबाट सिलसिलेबार रुपमा बहुसंख्यक मात्रामा प्रतिलिपी जीन उत्पादन गर्ने तथा त्यसबाट अध्ययन अनुसन्धान गर्ने प्रकृया नै पिसीआर हो ।
पोलिमरेज भन्नाले जिन (कुनै पनि बस्तुको अनुबांशिक गुण भएको सबैभन्दा सानो अंश) को इन्जाइम हो । जस्तै, आरएनए पोलिमरेज, डिएनए पोलिमरेज इत्यादी । पोलिमरेज इन्जाइमले न्युक्यिोटाइपलाई एकअर्कामा जोडेर आरएनए वा डिएनए निर्माण गर्ने काम गर्दछ ।