काठमाडौं । कोरोना भाईरस संक्रमणबाटा जोगिन सरकारले जारी गरेको लकडाउनमा सेवा बन्द गरेको आरोप लागेका निजी अस्पतालले सेवा नरोकेको दाबी गरेका छन् । अत्यावश्यक सेवा अन्तरतको स्वास्थ्य सेवा प्रवाहमा आफूहरुले कुनै कटौति नगरेको अस्पतालहरुको भनाइ छ ।
सरकारले कोरोना भाइरसबाट लाग्ने रोग कोभिड–१९ को संक्रमण फैलिन नदिनको लागि चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । सरकारले लकडाउन घोषणा गरेको समयमा निजी अस्पतालहरुले आफ्नो सेवा बन्द गरे भन्ने आरोप लागिरहेको बेला अस्पताल प्रशासनको यस्तो भनाइ आएको हो ।
लकडाउनको समयमा सरकारले अस्पतालहरुलाई सरकारले ईमरजेन्सी सेवालाई मुख्य प्राथमिकतमा राखेर सेवा सुचारु गर्न आग्रह गरेको थियो । तर, सरकारको आग्रह विपरित निजी अस्पतालहरु बन्द भएका गुनासो आइरहेको छ ।
सरकारको आग्रह अनुसार नै आफूहरुले केही सेवाहरु कटौती गरेको र केही सेवालाई बढि प्राथमिकतमा राखिएको उनीहरुको भनाइ छ ।
सुमेरु अस्पातल, धापाखेल
धापाखेलस्थित सुमेरु अस्पतालमा अहिले पनि सबै सेवाहरु सुचारु रहेको अस्पताल प्रशाशनका दिनेश आचार्यले बताए । दैनिक प्रवाह गर्ने ईमरजेन्सी, आईसियु, ओपिडी सेवाबाहेक अस्पतालले अहिले सरकारले निर्देशनमा फिभर क्लिनिक संचालन गरिरेहको छ ।
अस्पतालले ज्वरो, खोकी लागेको बिरामीलाई ४ घण्टा निगरानीमा राखेपछि ज्वरो कम नभएको अवस्थामा फिभर वार्डमा राखेर सन्चो भएपछि घर फर्काउने गरेको आचार्यको भनाइ छ ।
‘अस्पतालमा अहिले दैनिक ओपिडीमा ४० देखि ५० जना, ईमरजेन्सीमा पनि ४० देखि ५० जना, निरन्तर डायलसिस सेवाहरुको लागि विरामी आउने आउने गरेका छन्,’ आचार्यले भने ।
यद्यपि अस्पतालमा पिपिई निकै नै कम भएको आचार्यले गुनासो गरे । अस्पतालमा देशको विभिन्न भागबाट मानिसहरु डायलासिसको लागि आउने गरेको र उनीहरुमा ज्वरो देखिएमा कोरोना छ कि छैन भनेर परीक्षण गर्न आफूहरुसँग उपकरण नभएको उनको भनाइ छ ।
अहिले कोभिड १९ संक्रमणलाई जाँच्न प्रयोग भईरहेको र्यापिड डायगोनेस्टिक किट मात्रै भईदिए रोग पहिचानमा धेरै सहज हुने उनी बताउँछन् । तर स्वास्थ्य मन्त्रलायले उक्त किट प्रदान नर्गेने र आफुखुसी किनेर प्रयोग पनि गर्न नपाउने व्यवस्था गरेको आचार्यको भनाइ छ ।
नर्भिक अस्पताल, थापाथली
थापाथलीस्थित नर्भिक अस्पतालले अहिले विशेष गरेर अत्यावश्यक सेवाहरुलाई मुख्य प्राथमिकतामा राखेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अत्यावश्यकमा अस्पतालले तत्काल डेलिभरी मिति भएकाहरुलाई सेवा दिनको साथै, ईमरजेन्सी सेवा र थोरै मात्रामा ओपिडी सेवाहरु संचालन गरिरहेको अस्पताल प्रशासनको भनाइ छ ।
अस्पतालले हाल कोभिड–१९ को बिरामीको लागि फिभर क्लिनिकका साथै १५ वटा आईसोलेसन बेड संचालनमा ल्याएको छ । अस्पतालले कोभिड–१९ का बिरामीहरुलाई निशुल्क उपचार गर्ने समेत बताउँदै आएको छ ।
ह्याम्स अस्पताल, धुम्बाराही
धुम्बारहीस्थित ह्याम्स अस्पतालले अहिले पनि सबै सेवा संचालन गरिरहेको अस्पताल प्रशासनका रोशन अधिकारीले जानकारी दिए । आफूहरुले कुनै पनि सेवाहरुलाई नरोकेको उनको भनाइ छ ।
अहिले अस्पतालले सरकारको निर्देशनमा फिभर क्लिनिक संचालन गरेसँगै कोभिड १९ का संभावित लक्षण देखाउने बिरामीहरुको लागि २७ वटा आईसोलेसन बेड पनि तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।
अन्य समयको जस्तो बिरामीको चाप नभए पनि दैनिक ओपिडीमा ६० देखि १ सय जनासम्म आउने गरेको उनले बताए ।
हालसम्म अस्पतालले कोभिड–१९ को लागि ६८ वटा स्वाब राष्ट्रिय प्रयोगशाला टेकु पठाईसकेको र त्यसमा ४ जनाको नतिजा आउन बाँकी रहेको र बाँकी सबैको नतिजा नेगेटिभ आएको अधिकारी बताउँछन् ।
ग्राण्डी इन्टरनेसनल अस्पताल, टोखा
टोखास्थित ग्राण्डी अस्पतालले पनि कुनै पनि प्रकारको सेवाहरु बन्द नगरेको अस्पतालका प्रशासनले जानकारी दिएकाे छ।
प्रशासन हाल बिरामीको चाप तुलनात्मक रुपमा कम भएको तर सेवाहरु भने सबै संचालन भइरहेको बताएकाे छ । अस्पतालले पनि हेल्थ डेस्कको साथै फिभर क्लिनिक संचालनमा ल्याएको छ ।
अस्पतालले सन् २०१४ बाट नै संक्रमण हुने रोगहरुको लागि ईन्फेक्सन कन्ट्रोल डिपार्टमेन्ट संचालन गर्दै आएको छ । उक्त डिपार्टमेन्ट मार्फत आफुहरुले ह्यान्ड हाईजिन प्रोग्राम संचालन गर्दै आएको छ ।
अस्पतालले ३० शैयाको क्वारेन्टाईन वार्ड सहित ११ शैयाको कोभिड–१९ संक्रमित कक्ष बनाएको छ ।
अल्का अस्पताल, पुल्चोक
पुल्चोकस्थित अल्का अस्पतालले हाल डेन्टल सेवा बाहेक सबै प्रकारको स्वास्थ्य सेवा संचालन गरिरहेको अस्पताल प्रशाशनले जानकारी दिएको छ ।
अस्पतालमा दैनिक ५० देखि १ सयको हारहारिमा बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।
हाल अस्पतालले फिभर क्लिनिक संचालन गर्नुको साथै कोभिड १९ का बिरामीहरुको लागि आईसोलेसन बेड पनि तयारी अवस्थामा राखेको छ ।