दमौली अस्पतालमा स्वाब परीक्षण बुथ निर्माण

<p>काठमाडौं । कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलनका लागि तनहुँको दमौली अस्पतालमा बुथ निर्माण गरिएको छ । व्यास नगरपालिका–४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले अस्पतालका लागि स्वाब परीक्षण बुथ निर्माण गरेकाे हो । अस्पतालको आग्रहबमोजिम स्वाब परीक्षणका लागि बुथ निर्माण गरेको ढुङ्गानाले जानकारी दिनुभयो । “अस्पतालले पनि बनाउने सोंच गरेको रहेछ, [&hellip;]</p>

काठमाडौं । कोभिड–१९ का शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलनका लागि तनहुँको दमौली अस्पतालमा बुथ निर्माण गरिएको छ । व्यास नगरपालिका–४ निवासी राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गानाले अस्पतालका लागि स्वाब परीक्षण बुथ निर्माण गरेकाे हो ।

अस्पतालको आग्रहबमोजिम स्वाब परीक्षणका लागि बुथ निर्माण गरेको ढुङ्गानाले जानकारी दिनुभयो । “अस्पतालले पनि बनाउने सोंच गरेको रहेछ, मैले डिजाइन बनाएर लगेर बनाउन सक्छु भनेर देखाएको थिएँ”, ढुङ्गानाले भने, “अस्पतालका चिकित्सक मेरो प्रस्ताव स्वीकारेपछि मैले बुथ निर्माण गरेको हुँ ।”

बाहिरबाट हावा छिर्न नसक्ने गरी बनाइएको बुथभित्र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा कवज (पिपिइ) नलगाइकन पनि कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गर्न सक्छन् । स्वाब सङ्कलनका लागि बुथ सुरक्षित रहेको भन्दै ढुङ्गानाले भने, “व्यक्तिगत सुरक्षा कवज (पिपिइ) को अभाव हुँदा पनि बुथभित्र बसेर स्वास्थ्यकर्मीले ढुक्कसँग स्वाब सङ्कलन गर्न सक्छन् ।” बुथको लगभग काम सकिएको र केही दिनभित्रै बुथ सञ्चालनमा आउनेछ ।

बुथ निर्माणको सम्पूर्ण खर्च अस्पताल विकास समितिले व्याहोरेको छ । बुथ निर्माणका लागि करिब रु ५० हजार खर्च भएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । बुथ निर्माण भएपछि कोभिड–१९ का शङ्कास्पद बिरामीको सुरक्षित स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीलाई प्रेरणा मिल्ने अधिकारीले बताए । “बाहिरको जीवाणुभित्र नजाने गरी बुथ निर्माण गरिएको छ, यो सुरक्षित भएकाले स्वास्थ्यकर्मी पनि ढुक्क भएर सेवा प्रवाहमा लाग्न सक्नेछन्”, अधिकारीले भने ।

दमौली अस्पतालले शङ्कास्पद बिरामीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने गरेको छ । तनहुँ जिल्लामा हालसम्म १८ जनाको स्वाब परीक्षण भइसकेको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

ढुङ्गानाले नै निर्माण गरेको स्यानिटाइजर टनेलसमेत दमौली अस्पतालमा सञ्चालनमा आइसकेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिसकिएको छ । अस्पताल प्रवेश गर्नुअघि र अस्पतालबाट बाहिर निस्कने बेला उक्त उपकरणबाट व्यक्तिको शरीर स्यानिटाइज हुने गरेको छ । उक्त स्यानिटाइजर टनेल निर्माणका लागि रु ३५ हजार खर्च भएको छ ।

कक्षा ४ मा अध्ययन गर्दादेखि नै विज्ञान प्रविधिसँग जोडिनुभएका ढुङ्गानाले विद्यालयमा अध्ययन गर्दाको समयमा नै विद्युतीय डोजर, फुटबल खेल्ने रोबोट, जमिन, पानी र आकाशमा चल्ने गाडी, म्यानुअल लोडिङ एण्ड लिफ्टिङ रोबोट पार्ट १, पार्ट २, घाँस काट्ने रोबोट, हेलिकोप्टर, केवलकारको नमूना, ¥यापिड बम डिस्फोजल रोबोट निर्माण गरेका थिए ।

साथै उनले व्यासको जन्मभूमि व्यास गुफामा भजन गाउँदा बत्ती बल्ने प्रविधि पनि जडान गरेकाे छ भने हेल्मेट नलगाई मोटरसाइकल स्टार्ट नहुने र सोलारबाट चल्ने स्कुटरको समेत विकास गरेका छन् ।

Share News