
काठमाडाैं । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट पछिल्लो घटना देखिएको हो । उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा शुक्रवार कोरोना भाइरस पोजिटिभ देखिएको जनाइएको छ।
पछिल्लो समय ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक परीक्षण गर्न थालेको छ र राष्ट्रपतिलाई सङ्क्रमणबाट जोगाउन हरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेको कार्यालयले जानकारी दिएको छ । (बीबीसीकाे सहयाेगमा)