काठमाडौं । विश्वभर कोरोना भाइरसको महामारी छ । यो महामारीको न्युनिकरण र जोखिम कम गर्नको लागि विभिन्न देशले विभिन्न विधिबाट उपचारमा तिव्रता दिइरहेका छन् । उनीहरुले धेरै मानिस तथा कोरोनाका शंकास्पद व्यक्तिहरुको निगरानी गरेर कोरोना परीक्षणको दायरामा बढाइरहेका छन् ।
नेपालले पनि कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको समयमा शंंकास्पद मानिसहरुलाई परीक्षणको दायरामा पनि ल्याइरहेको छ । यो समयमा कोरोनाका सम्भावित व्यक्तिलाई परीक्षणको दायरामा ल्याई बढीभन्दा बढी परीक्षण गर्नु पर्ने अवस्थामा यही बेला एउटा घिनलाग्दो प्रवृति देखिएको छ ।
अहिले कोरोना भए नभएको पत्ता लगाउने एउटा प्रभावकारी उपाय पीसीआर परीक्षण नै हो । तर, त्यही पीसीआर परीक्षण पनि शक्तिको आडमा प्रयोग भइरहेको बुझिएको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा धेरै जसो व्यक्तिको पीसीआर परीक्षण शक्ति र पहुँचका आधारमा हुने गरिएको पाइएको हो ।
एउटा प्रसंग जोडौं । केही दिन अगाडि दार्चुला घर भई हाल काठमाडौं बस्दै आएका एकजना विद्यार्थी आफुलाई कोरोना भाइरसँग मिल्ने केही सम्भावित लक्षण देखा परेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगे । उनलाई उच्च ज्वरो थियो । अलिकति खोकी पनि लागिरहेको थियो । घाँटी पनि दुखिरहेको थियो । उनमा यी लक्षणहरु देखा परेपछि उनका साथीहरुले पनि कोरोना जाँच्नको लागि सल्लाह दिए ।
उनी डरै डरले अस्पताल गए । कतै आफूमा कोरोना त देखिने होइन भन्ने उनमा भित्री त्रास उत्तिकै थियो भने उच्च ज्वरोले पनि उनलाई सताइरहेको थियो । उनी टेकु अस्पतालमा पुगे । टेक अस्पतालका डाक्टरले उनलाई सबै कुरा साेधे । उनको जवाफ पाएपछि उनलाई पीसीआर जाँच्न उचित नभएको डाक्डरले सुझाए ।
उनमा डर त थियो नै । तर, डाक्टरले नै परीक्षण गर्न आवश्यक छैन भनेर उनी घर फर्के । उनमा डर भने कायमै छ । तर उनी अहिले गृह जिल्ला दार्चुलामै गइसकेका छन् । यो त एउटा उदाहरण मात्र हो । यस्ता बिरामीहरु टेकु अस्पतलमा दैनिक दर्जनौं आउँछन् । तर, डाक्टरहरुले उनीहरुमा पीसीआर र आरटीडी परीक्षण गर्न आवश्यक देख्दैनन् र घर फर्काई दिन्छन् ।
धेरैको त आरटीडी परीक्षण त हुन्छ । तर पीसीआर परीक्षण हुँदैन । अहिले देखिएका धेरै बिरामीहरुमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको चिकित्सकहरु बताउँछन् । कोरोना भएका मान्छेमा पनि लक्षण नदेखिन सक्ने, परिक्षणबाट मात्र वास्तविकता थाहा हुने विज्ञहरूले बताउँदै अाएका छन् । तर नेपालमा काेराेनाकाे शंकामा परीक्षण गर्न अस्पताल जाँदा पनि उनीहरुको आरटीडी र पीसीआर परीक्षण नहुनु विडम्बना हो ।
तर यसैबीच पनि शक्ति र पहुँच भएकाहरुको भने सहजै आरटीडी मात्र होइन पीसीआर नै परीक्षण हुने गरिएको बुझिएको छ । अस्पतालमै आफूलाई लक्षण देखिएको छ भनेर परीक्षणका लागि जाने सर्वसाधारणको पीसीआर परीक्षण हुँदैन । त्यहाँ परीक्षण कीटको अभाव देखाएर घर फर्काइन्छ तर पहुँच भएकाहरु एक फोनका आधारमा परीक्षण हुने गरेकाे पाइएकाे छ ।
यसको एउटा उदाहरण हिजो र अस्ति सबै सांसदहरुको परीक्षण पनि हो । सांसद सबैको पीसीआर परीक्षण भएको थियो । यसमा सांसदहरूको परीक्षण नहुनु पर्ने भन्न खोजिएको होइन तर लक्षण देखियो भनेर अस्पताल पुग्नेहरुको पीसीआर परीक्षण गरिँदैन । उनीहरुलाई विना जाँच घर फर्काइन्छ । उनीहरुलाई किटको अभाव देखाइन्छ । तर, शक्ति भएकाहरुलाई न किटको अभाव हुन्छ नत लक्षण नै चाहिन्छ ।
तर, टेकु अस्पतालका निर्देशक डा. सागरराज भणडारी भने शक्तिको आडमा नभई आवश्यकताको आधारमा पीसीआर परीक्षण भइरहेको बताउँछन् । स्वास्थ्य जस्तो संवेदनशील विषयमा त्यस्तो नहुने उनको तर्क छ । उनले धेरै अस्पतालमा आएका शंकास्पद र अन्य अस्पतालबाट रिर्फर भएका बिरामीको मात्र उपचार हुने भएकोले साधारण लक्षण देखिएका वा कोरोना जाँच गर्नैको लागि भनेर आउनेको अवस्था हेरेर परीक्षण हुने गरेको उनले बताए ।
‘आवश्यक परेमा नमुना संकलन गरेर पठाउने काम भइरहेको छ, लक्षण देखिएकाहरुको उपचार पनि गरिनै रहेका छौं, सबैको परीक्षण गर्न सम्भव पनि छैन,’ उनले भने । व्यक्तिको लक्षण र अवस्था हेरेर उपचार र पीसीआर परीक्षण हुने उनले बताए ।
‘व्यक्तिमा लक्षण छैन, कसैसँग सम्पर्क पनि छैन भनेपछि अनावश्यक खर्च किन गर्ने, सबै नागरिकलाई पीसीआर परीक्षण गर्न मिल्दैन,’ उनले भने -‘विरामीकाे सबै लक्षण हेरेर हामी पठाउँदैनौं ।
अब धेरै मानिसको एकै पटक परीक्षणको दायरामा ल्याउनका लागि सबैको एकैपटक रगत संकलन गरेर एउटै मेसिनमा राख्ने र परीक्षण गरिने उनले बताए । यदि त्यसमा कोरोना पोजेटिभ देखिएमा पछि सबैको व्यक्तिगत रुपमा परीक्षण गरिने उनले बताए ।
हालसम्म १६ हजार ३ सय ९ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । आजसम्म ५५ हजार ९ सय ३० जनाको आरटीडी परीक्षण भएको उनको भनाइ छ । देशभर कुल १ सय ४३ आइसोलेसनमा छन् भने ३ सय ४० सम्भावित संक्रमित अर्थात रेड जोनमा छन् । उनीहरुलाई ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए । ३१ जना निको भएर पनि घर फर्किसकेका छन् ।
आज मात्रै सरकारले कोभीड एनपी एप सञ्चालनमा ल्याएको छ । उनले अब पीसीआर परीक्षणको संख्या बढाएर धेरैलाई परीक्षणको दायरामा ल्याउने बताए । उनले हाल ५० हजारको हाराहारीमा पीसीआर कीट मौजाद रहेको बताए । सम्भावित व्यक्ति र जिल्लामा गएर परीक्षणको दायरा बढाउने उनले बताए ।