काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षणका क्रममा आरडीटी पोजिटिभ देखिएकी २९ वर्षीया महिलाको मत्यु भएको छ । टिचिङ अस्पतालमा ८ दिनअघि सुत्केरी भएकी ती महिलालाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार साँझ मृत्य भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुनः परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ । अस्पतालका अनुसार ती महिलामा कोरोना पोजिटिभ भए नभएको यकिन भएको छैन ।
ती महिला सिन्धुपाल्चोककी बासिन्दा रहेको खुलेको छ । अस्पतालले केही बेरमा विस्तृत जानकारी गराउने बताएको छ । उनको मृत्युलगत्तै जिल्ला प्रशासन कार्यालय धुलिखेलमा यतिबेला कोरोना नियन्त्रण कमाण्ड पोस्टको आकस्मिक बैठक सीडीओ कार्यालयमा बसिरहेको छ ।
अस्पतालमा उपचार गराएकी ती महिलाको मृत्यू भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सील गरेर उनको उपचारमा संलग्न डाक्टार, नर्सलगायत स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको छ ।