काठमाडाैं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ १ संक्रमितको मृत्यु भएको छ ।
अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी पुष्टि गरेको हो । याेसँगै नेपालमा १४ जना काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ ।
निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस्पतालको प्रि–आइसोलेसन कक्षमा उपचार गराइरहेका ती व्यक्तिको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ कोरोना पोजिटिभ देखिएपछि आइसोलेसन कक्षमा सारिएको थियो । उनी मिर्गौला, मधुमेहलगायतका रोगको बिरामी भएको बताइन्छ ।
गण्डकीमा संक्रमित १ सय १५
गण्डकी प्रदेशमा कोभिड–१९ संक्रमित १ सय १५ जना पुगेका छन् । बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोभिड–१९ देखिएको हो । गण्डकीका ९ जिल्लामा गरी कोभिड–१९ सङ्क्रमित १ सय १५ पुगेका छन् । मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन् ।
स्याङ्जामा ३८, बागलुङमा २९, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १७, गोर्खामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँमा तीन, म्याग्दीमा दुई तथा लमजुङमा एक जनालाई सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो । बागलुङकी एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो ।
बागलुङका २ र लमजुङका १ जना निको भएका हुन् । प्रदेशमा हालसम्म ५ हजार ३ सय ५ को पिसिआर विधिबाट परीक्षण गरिएकामा ४ हजार ४ सय ५४ मा कोरोना देखिएको छैन ।
परीक्षण गरिएकामध्ये ७ सय ३४ को नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । प्रदेशमा आरडिटी विधिबाट भने ९ हजार ३ सय ५० को परीक्षण गरिएको छ ।