दमौली अस्पतालमा पहिलाेपल्ट सघन उपचारकक्ष निर्माण शुरु

<p>काठमाडौं । जिल्लाको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि  कोभिड–१९ अवसर बनेको छ । विसं २०५९ मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचारकक्ष नरहेकोमा कोभिड–१९ का कारण अस्पतालमा सघन उपचारकक्ष निर्माण हुने निश्चित भएको हो । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका अस्पतालमा सघन उपचारकक्ष निर्माणका लागि बजेट विनियोजन गरेपछि दमौली [&hellip;]</p>

काठमाडौं । जिल्लाको स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि  कोभिड–१९ अवसर बनेको छ ।

विसं २०५९ मा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पतालमा अहिलेसम्म सघन उपचारकक्ष नरहेकोमा कोभिड–१९ का कारण अस्पतालमा सघन उपचारकक्ष निर्माण हुने निश्चित भएको हो ।

गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका अस्पतालमा सघन उपचारकक्ष निर्माणका लागि बजेट विनियोजन गरेपछि दमौली अस्पतालमा पनि सघन उपचारकक्ष निर्माणका लागि काम शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । अस्पतालको पुरानो भवनलाई सघन उपचारकक्ष बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

सघन उपचारकक्षका लागि भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु २० लाख बजेट विनियोजन गरेको छ । सोही रकमबाट पाँच श्यया क्षमताको सघन उपचार कक्षका लागि पूर्वाधार निर्माण गरिनेछ । अध्यक्ष अधिकारीका अनुसार सघन उपचार कक्षका लागि आवश्यक सामग्री खरिदका लागि रु एक करोड ६९ लाख बजेट विनियोजन भइसकेको छ । बोलपत्र प्रक्रियामार्फत सामग्री खरिद गर्नुपर्ने र बन्दाबन्दीका कारण सामग्री आपूर्तिमा केही कठिनाइ भएको उनको भनाइ छ । “सघन उपचारकक्षका लागि असार १५ गतेभित्र काम सम्पन्न गर्ने गरी तयारी थालेका छौँ”, अध्यक्ष अधिकारीले भने । उनका अनुसार कोभिड–१९ अस्पतालमा पूर्वाधार विकासको अवसर बनेको आएको छ ।

“अस्पतालमा स्तरोन्नति भएको १७ वर्षपछि पहिलोपटक सघन उपचारकक्ष निर्माण हुन लागेको छ, कोभिड–१९ यसका लागि अवसर बनेर आयो”, उनले भने, “कोभिड–१९ को प्रकोप नभएको भए अझै कति वर्षसम्म सघन उपचारकक्ष निर्माण हुन सक्दैनथ्यो होला ।”

जिल्लास्तरीय अस्पतालमा नै सघन उपचारकक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडाँै पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ । “कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि दमौली अस्पतालको पुरानो भवनलाई आइसीयूसहितको उपचार केन्द्र बनाउने गरी पूर्वाधार निर्माणमा जुटेका छौँ”, अध्यक्ष अधिकारीले भने, “तत्कालका लागि आइसीयूकक्ष कोरोना लक्षित भए पनि भविष्यमा आइसीयू कक्षले अन्य बिरामीलाई पनि सेवा प्रवाहमा सहज हुनेछ ।”

पन्ध्र रोपनी १४ आना जग्गामा फैलिएको अस्पताल थप जग्गाको अभावमा स्तरोन्नति हुनसकेको छैन । अस्पताल विकास समितिका अनुसार ५० श्ययाको अस्पताल बनाउन ३५ देखि ८० रोपनी जग्गा आवश्यक पर्दछ । विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यो अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।

विसं २०७२ मा अस्पतालको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएको थियो । सोही वर्ष अस्पतालमा डायलायसिस सेवा शुरु गरिएको, विसं २०७३ मा मानसिक उपचार केन्द्र स्थापना गरिएको अस्पतालमा विसं २०७४ मा आफ्नै फार्मेसी सञ्चालन गरिएको थियो । अस्पतालमा हाल सरकारी दरबन्दीमा एक मेसु, दुई मेडिकल अधिकृत, पाँच स्टाफ नर्स/अनमी, तीन एचए, एक रेडियोग्राफर, दुई ल्याब टेक्निसियन/असिस्टेन्ट, दुई प्रशासनतर्फ कर्मचारी र दुई कार्यालय सहायक कार्यरत छन् । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलायसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस

Share News