बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टिनमा बसेका ६२ जनालाई पिसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित बनेका छन् ।
कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टिनमा बसेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै बुधबार नगरपालिकाले घर पठाएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।
धुरालसैन माविको क्वारेन्टिनमा बस्ने करिब १८७ जनाको पिसीआर जाँचका लागि धनगढी पठाइएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि ६२ जनाको रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । रिपोर्ट नआएकाहरु धरै दिनसम्म बस्नुपरेको भन्दै आक्रोशित हुन थालेपछि नगरपालिकाले घर पठाइदिएको आरोप स्थानीयवासीको छ । त्यस्तै बुधबार नै सदरमुकाम मार्तडीको बाजुरा क्याम्पस र मालिका माविको क्वारेन्टिनमा रहेकालाई पनि २३ दिनसम्म पिसीआर रिपोर्ट नआएपछि घर पठाइएको छ ।