काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोराेना भाइरस देखिएको बताए ।
गौतमका अनुसार अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् ।
हाल क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ६ सय ९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।