काठमाडौं । बारामा काेभिड-१९ काे कारण १७ वर्षिय युवतीकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षिया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षिया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।
बुधबार स्वास्थ्यमा समस्या आएपछि विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोेजेटिभ देखिएको थियो । त्यसलगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाव संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
शनिबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।