नि:शुल्क मनोसामाजिक परामर्श दिँदै सम्भाव्य फाउन्डेसन, मानसिक समस्या झेलिरहेकाे जाेकाेहीले सेवा लिन सक्ने

<p>काठमाडौं । कोभिड १९ महामारी र लामो समयको लकडाउनले सबैको जीवनमा तनाव थपिदिएको छ । सामान्य अवस्थामा पनि मानसिक समस्यमा गुज्रिरहेने मानव जातिमा कोभिडले झनै समस्या थपिदिएको छ । धेरै व्यवसायहरु ठप्प हुँदा अधिकांशलाई आर्थिक संकटले पिरोलेको छ । विशेष गरी सानातिना व्यापार व्यवसाय गर्दै आएका र दैनिक कमाएर खानुपर्ने वर्गलाई लामो समयदेखि काम ठप्प [&hellip;]</p>

काठमाडौं । कोभिड १९ महामारी र लामो समयको लकडाउनले सबैको जीवनमा तनाव थपिदिएको छ । सामान्य अवस्थामा पनि मानसिक समस्यमा गुज्रिरहेने मानव जातिमा कोभिडले झनै समस्या थपिदिएको छ ।

धेरै व्यवसायहरु ठप्प हुँदा अधिकांशलाई आर्थिक संकटले पिरोलेको छ । विशेष गरी सानातिना व्यापार व्यवसाय गर्दै आएका र दैनिक कमाएर खानुपर्ने वर्गलाई लामो समयदेखि काम ठप्प हुँदा घरभाडा, कामदारलाई तलब, बैंकको किस्ता आदि कसरी तिर्ने भन्ने पीरदेखि लिएर कसरी जीवन धान्ने भन्ने सम्मको चिन्ताले गाँजेको छ ।

यसबाहेक पनि कसैलाई पढाइको चिन्ता, कसैको परिवारमा कलह र झैझगडा, कसैको किशोरावस्थामा प्रेम सम्बन्ध र  यौन जीवनका विविध समस्याहरु, दाम्पत्य जीवनका उतार चढावहरु आदि समस्याले गर्दा डर, त्रास, निराशा, दिक्दारी, अत्यास, थकाइ, अनिद्रा, धेरै बिर्सने बानी, अत्यधिक तनाव, डिप्रेशन लगायतका मानसिक समस्या धेरै बढेको देखिन्छ ।

यस्तै, परिस्थितिलाई ध्यानमा राख्दै सम्भाव्य फाउन्डेशनले फादर जो थालरको सहयोगमा “मनोसामाजिक परामर्श – सबैका लागि” भन्ने उद्देश्यका साथ निःशुल्क अनलाइन तथा टेलिफोन–काउन्सिलिङ मार्फत मनोपरामर्श कार्यक्रम गरिरहेको छ ।

यस कार्यक्रम अन्तर्गत फाउन्डेशनका मनोपरामर्शदाताहरुले कोभिड-१९ महामारीको कारण कुनै पनि प्रकारको मानसिक समस्यामा परेर सहयोग खोजिरहेका व्यक्तिहरुलाई म्यासेन्जर, भाइबर अथवा इन्टरनेटमा पहुँच नभएको अवस्थामा फोनमार्फत आफैँ सम्पर्क गरी आवश्यक मनोसामाजिक परामर्श सेवा निःशुल्क रुपमा प्रदान गर्दछन् ।

थुप्रै स्कूले विद्यार्थी, किशोरकिशोरी, अभिभावक, गृहिणी लगायत समस्या भएका व्यक्तिहरुले यस कार्यक्रम अन्तर्गत सेवा प्राप्त गरिसकेका र दैनिक सयौँको संख्यामा इच्छुक व्यक्तिहरुले फेसबुक, म्यासेन्जर र फोनबाट सम्पर्क गरिरहेको कुरा उक्त कार्यक्रमका सुपरभाइजर केशव श्रीष मगरले बताउँछन् । यस्ता समस्या परेका जो कोहीले पनि सम्भाव्य फाउन्डेशनको वेबसाइट, फेसबुक पेज अथवा फोन नम्बरहरुमार्फत सम्पर्क गर्नसक्ने उनले बताए ।

कस्तो संस्था हो सम्भाव्य फाउन्डेसन ?

सम्भाव्य फाउन्डेशन मनोसामाजिक परामर्शदाताहरुको टिम हो जसमा भिन्न विषय र तहका मनोविज्ञानका अध्येताहरु (क्लिनिकल साइकोलोजिस्ट, काउन्सिलिङ साइकोलोजिस्ट, काउन्सलर, स्कूल काउन्सलर लगायत) संलग्न छन् ।

गैरनाफा मुलक संस्थाको रुपमा रहेको यस फाउन्डेशनले सन् २०१८ देखि विद्यार्थी, किशोरकिशोरी, अभिभावक, शिक्षक लगायत सर्वसाधारणलाई निरन्तर मानसिक स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।

जुनसुकै ठाउँमा बसोबास गर्ने हरेक नेपालीको, मानसिक स्वास्थ्य सम्बन्धी सेवामा पहुँच होस् भन्ने यस संस्थाको चाहना तथा उद्देश्य अनुरुप सम्भाव्य फाउन्डेशनले सामुदायिक विद्यालयहरुमा निःशुल्क रुपमा मनोपरामर्श सेवा प्रदान गर्दै आएको श्रीषले बताए ।

लकडाउनभन्दा अगाडिसम्म हप्तैपिच्छे आफ्ना मनोपरामर्शदाताहरु पठाएर १३ वटा सामुदायिक विद्यालयहरुमा प्रत्यक्ष मनोपरामर्श सेवा प्रदान गर्दै आएको फाउन्डेशनले अहिले त्यस सेवालाई निःशुल्क अनलाइन तथा टेलिफोन मार्फत संचालन गरिरहेको ।

यस्तो मनोपरामर्श सेवा शुरु भएदेखि विद्यार्थीहरुको आत्मविश्वास बढेको, उनीहरु खुशी भएका, पढाइमा पनि मन लगाउन थालेको र बानी व्यवहारमा पनि सुधार आउनुको साथै शिक्षक र विद्यार्थीबीचको सम्बन्ध पनि सुमधुर बन्दै गएको प्रतिकृया आफुहरुलाई विद्यालय व्यवस्थापक तथा शिक्षकहरुले दिएको श्रीष बताउँछन् ।

किन चाहिन्छ मनोपरामर्श ?

प्राय मानिसहरुले मनोपरामर्श भन्नाले दुःखपीडा सुनेर त्यसमा सान्त्वना र सल्लाह सुझाव दिने काम भन्ने सोचेका हुन्छन् । त्यसैले यसलाई जोसुकैले पनि गर्न सक्छ भन्ने सोचिन्छ तर मनोपरामर्शदाताहरुले त्यतिमात्र भने गर्दैनन् ।

विभिन्न कारणले गर्दा मानिसहरुले आफ्नो तनाव, व्यक्तिगत समस्याहरु साथीभाइ, आफन्त वा परिवारका सदस्यहरुसँग हतपत्त बाँड्न सक्दैनन् किनभने

१. आफन्त वा साथीभाइलाई व्यक्तिगत कुराहरु बताउँदा अरुलाई भनिदिन्छन् भन्ने डर ।
२. आमा, बुवा, दाजुभाइ दिदीबहिनी लगायतका आफन्तलाई बताउँदा गाली गर्लान् रिसाउलान् भन्ने डर ।
३. आफ्नो गल्ती कमीकमजोरीका कारण मनमा हीन भावना ।
४. आफ्नो कमीकमजोरी वा समस्या सुनेर सबैले खुच्चिङ् भन्ने त हुन् नि । कसैले केही सहयोग गर्ने होइनन् भन्ने भावना ।

मनोपरामर्शदाताले कसरी सहयोग गर्छन् ?

१. निःस्वार्थ सक्रिय सुनाइको माध्यमबाट कुराहरु सुन्ने

२. सेवाग्राहीलाई कमीकमजोरीहरु सहित संपूर्ण रुपमा स्वीकार गर्ने

३. जस्तोसुकै समस्यालाई आफ्नै समस्याजस्तो ठानेर महसुस गर्ने

४. व्यक्तिगत विवरण र कुराकानी पूरै गोप्य राखिने

५. यसो गर्नू, उसो नगर्नू भनेर अर्तीउपदेश नदिने

६. गल्ती, कमीकमजोरीहरु भएमा पनि आलोचना नगर्ने, असल, खराब भनेर मूल्यांकन नगर्ने

७. समस्या भएका व्यक्तिलाई आफैँभित्रबाट समाधान खोज्न सहयोग गर्ने आदि

 

Share News