काठमाडाैं । नेपालमा काेराेनाकाे कारण थप ३ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे भएकाे जनाएकाे छ ।
मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षिय पुरुष रहेका छन । उनी निरन्तर भारत आवतजावत गरिरहने र उनमा ज्वराे र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको र अवस्था गम्भिर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए । अस्पतालको आइसियु भेन्टिलेटरम उपचारकै क्रममा उनको निधन भएको हो ।
यस्तै पर्साको विरगञ्ज—७ का ७० वर्षिय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक नीजि अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए ।
साथसाथै पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धि समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न नीजि अस्पतालमा गएपनि निको नभएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसियुमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । बिहीबार नेपालमा २ सय ७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।