दमक । दमकमा कोरोना सङ्क्रमण समुदायसम्म फैलिएको र कतिपय कोरोना सङ्क्रमित जाँचका लागि अस्पतालसम्म पुगेको पनि पत्तो पाएपछि यहाँ रहेका अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द गर्ने निर्णयमा पुगेका छन् । ओपिडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।
जिल्लाको मेचीनगरमा एक चिकित्सकमा केहि दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि दमकको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकजना सङ्क्रमित व्यक्ति उपचारमा आएको पत्तो पाएपछि उक्त हस्पिटलमा आवतजावतमा रोक लगाइएको छ । त्यसपछि दमकका एक जना सब्जी व्यापारी दमकस्थित एक अस्पतालमा उपचारका लागि गएको खुलेपछि अस्पताल पनि सिल हुने सम्भावना रहेको छ ।