काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टीनमा बसेका छन् । राष्ट्र बैंकको नयाँ भवन निर्माणमा खटिएका एक इन्जिनियरलाई कोभिड–१९ पोजेटिभ देखिएको र ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको पाइएकोले गभर्नर होम क्वारेन्टीनमा बस्नु परेको राष्ट्र बैंकका उच्च स्रोतले बतायो ।
स्रोतका अनुसार गत साता इन्जिनियरको एक टोली भैरहवा पुगेर त्यहाँको भवनको अवस्था अध्ययन गरी फर्किएको थियो । भैरहवाबाट फर्किएपछि उनीहरुको पीसीआर परीक्षण गराइएको थियो । त्यस मध्ये एक जनामा कोभिड–१९ पोजेटिभ रिजल्ट आएको थियो ।
अस्पतालले कन्ट्रयाक टेसिङ गर्ने क्रममा ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको बताएका थिए । त्यसपछि अस्पतालले तत्काल गभर्नरलाई जानकारी दिदै ६ दिन होम क्वारिन्टनमा बस्न र त्यसपछि पीसीआर परीक्षण गराउन सुझाव दिएको थियो ।
‘शुक्रबार अस्पतालले जानकारी दियो, त्यसपछि उहाँ घरमै क्वारिन्टीनमा बस्नु भएको छ’ राष्ट्र बैंकका उच्च अधिकारीले बताए । ‘३ गते पीसीआर परीक्षण गराउनुहुन्छ । नतिजा नेगेटिभ आयो भने ४/५ गतेबाट अफिस आउनुहुन्छ’ उनले भने ।
राष्ट्र बैंकले कोभिड संक्रमणबाट बच्च उच्च सर्तकता अपनाएको र आफना सबै कर्मचारीको पीसीआर परीक्षण थालेको जनाएको छ । गत बिहीबारदेखि दैनिक ७०/८० जना कर्मचारीको पीसीआर टेष्ट गराईरहेको छ ।
यस क्रममा गत साउन २९ गते विहीबार मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीमा कोभिड संक्रमण भएको रिपोर्ट आएको र भदौ १ गते सोमबारको परीक्षणमा वित्तीय जानकारी इकाइका एक कर्मचारीलाई पनि कोरोना पोजेटिभ देखिएको स्रोतले बतायो । शुक्रबार र आइतबार गरिएकाे परिक्षणमा सबै रिपाेर्ट नेगेटिभ आएकाे छ ।