काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नको लागि प्रयोग गरिने स्वास्थ्य सामग्रीमा कालो बजारी हुने गरेका समाचारहरु सुरुसुरुमा धेरै सुनिए । बजारमा ती स्वास्थ्य सामग्रीहरुमा मूल्यवृद्धिका लागि कृतिम अभाव सिर्जना गर्ने सम्मका कामहरु भए ।
बजारमा स्वास्थ्य सामग्रीहरुमा कालो बजारी गर्नेहरुको बिगबिगी भएपछि औषधि व्यवस्था विभागले बैशाखमा ह्याण्ड स्यानिटाइजरकाे मूल्य निर्धारण गर्यो ।
विभागले बजारमा बिक्री हुने ह्याण्ड स्यानिटाइजरको मूल्य निर्धारण गरेपनि अहिले बजारमा खुलेआम कालोबजारी भइरहेको छ । बजारमा ह्याण्ड स्यानिटाइजरको माग बढ्दै गएपछि यसलाई सर्वसुलभ बनाउन, कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न विभागले मूल्य सीमा निर्धारण गरेको थियो ।
विभागले उत्पादकहरुले लागत मापन नै नगरी स्यानिटाइजरको बिक्री गर्दा मूल्यमा धेरै नै फरक आएपछि त्यसमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेको बताएको थियो। तर, अझै पनि औषधि उत्पादकहरुले त्यसमा एकरुपता ल्याउन सकेका छैनन् ।
विभागले स्यानिटाइजरको प्रति एमएलको मूल्य १ रुपैयाँ २५ पैसाभन्दा बढी रुपैयाँ लिन नपाइने उल्लेख गरेको छ । तर, अहिले बजारमा प्रति एमएलको २ रुपैयाँ २५ पैसा भन्दा बढी लिइरहेका छन् ।
विभागले निर्धारण गरेको मूल्य सूची अनुसार ५० एमएलको नरमल ह्याण्ड रबलाई बढीमा ६५ रुपैयाँ, एक सय एमएललाई १ सय २५ रुपैयाँ भन्दा बढी लिन नपाउने गरी सीमा तोकेको छ ।
यस्तै, ५० एमएलको ह्याण्ड रब जेललाई ८० रुपैयाँ, एक सय एमएललाई १ सय ४५ रुपैयाँ बढी लिन नपाइने उल्लेख गरिएको छ । २ सय एमएल ह्याण्ड रब जेललाई ३०० रुपैयाँ र ५ सय एमएललाई ५ सय १५ भन्दा बढी रुपैयाँ लिन नपाइ+ने विभागले जनाएको छ।
यस्तै, ५ सय एमएललाई ४ सय ५० रुपैयाँ, एक हजार एमएललाई ६ सय ९०, दुई हजार एमएल र ५ हजार एमएललाई क्रमश १ हजार ३ सय ५० र ३ हजार रुपैयाँभन्दा बढी लिन नपाइने गरी मूल्य तोकेको छ ।
तर, अहिले बजारमा कतिपय स्यानिटाइजर उत्पादकहरुले आफुखुसी मूल्य राखेको देख्न सकिन्छ । विभागले निर्धारण गरेको मूल्य अनुसार १ रुपैयाँ २५ पैसाका दरले ७५ एमएल स्यानिटाइजरको मूल्य ९३ रुपैयाँ ७५ पैसा हुने पर्ने हो । तर बजारमा ७५ एमएल स्यानिटायजरको मूल्य १ सय ६० रुपैयाँसम्म लिने गरिएको छ ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बजारमा स्यानिटाइजरको मूल्यमा एक रुपता नभएको स्वीकार गरे । ‘सबै स्यानिटाइजर उत्पादक उद्योगहरु दर्ता प्रक्रियामा आउनका लागि हामीले सूचना आव्हान गरेका छौं, सबै दर्ता भइनसक्दासम्म मूल्यमा एकरुपता हुन समस्या नै हुन्छ, सबै दर्ता पक्रियामा आइसकेपछि सबैको मूल्य एउटै हुन्छ,’ उनले भने ।
उनले अझै उद्योग दर्ताका लागि एक महिना बाँकी रहेकोले एक महिनासम्म पनि यस्तै हुने उनको भनाई छ । यस्तै, नेपाल औषधि उत्पादक संघका महासचिव विप्लभ अधिकारीले आफुहरुले पनि मूल्य तोकिसकेकोले अहिले आफ्नो संघमा आवद्ध सबै उद्योगको मूल्यमा एकरुपता भएको बताए । पहिले केही कालोबजारी भएपनि अहिले त्यस्तो नभएको उनको भनाई छ ।
यस्तै, बजारमा कालो बजारी भएको बारे अनुगमन गर्ने वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका सुचना अधिकारी रविन्द्र आचार्यले अहिले आफुहरुमाझ त्यस्तो मूल्य वृद्धि सम्बन्धि गुनासो नआएको बताए । उनले उपभोक्ता वा कुनैबाट त्यस्तो गुनासो आएमा अनुगमन गर्न सक्ने बताए ।
स्यानिटाइजरमा ७० देखि ८० प्रतिशत इथेल अल्कोहल वा आइसोप्रोपल अल्कोहल मात्र हुनुपर्ने विभागले मापदण्ड निर्धारण गरेको छ । विभागले निश्चित मापदण्ड निर्धारण गरेपनि कतिपयले भने ७० देखि ८० प्रतिशत अल्कोहलको मात्रा नभएको र मनपरी मूल्यमा स्यानिटाइजर बिक्री वितरण भएको गुनासो आइरहेको छ ।
भारतको भन्दा नेपालमा बनेको स्यानिटाइनजर महँगो
बजारमा कालोबजारी सँसँगै उपभोक्ताहरुले स्यानिटानइजरको चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले नै भारतको भन्दा महँगो मूल्य निर्धारण गरेको छ ।
स्वदेशी उत्पादन स्यानिटाइजर मल्टिनेश्नल कम्पनीबाट उत्पादित वस्तुभन्रदा सस्तो हुनु पर्नेमा उल्टै नेपालमै बनेको स्यानिटाइजर महँगो पर्ने गरेको छ । जसको प्रत्यक्ष मारमा उपभोक्ता परिरहेका छन् ।
औषधि व्यवस्था विभाग नेपालमा ड्र मेट्रियल महँगो पर्ने भएकोले स्यानिटाइजर पनि महँगो पर्ने गरेको बताउँछ । ‘भारतमा ड्र मेट्रियल सस्तोमा पाइन्छ, उनीहरुले त्यही अनुसार मूल्य तोक्छन्, हाम्रोमा ड्र मेट्रियलको मूल्य महँगो भएकोले मूल्य पनि महँगो भएको हो,’ विभागका प्रवक्ता केसीले भने ।
उनले सबै दर्ता प्रक्रियामा आइसकेपछि विस्तारै मूल्य पनि सस्तो हुँदै जाने बताए । भारतले प्रति एमएल स्यानिटाइजरको मूल्य ५० पैसा लिने गरेको छ । सो अनुसार ६० एमएल स्यानिटाइजर छ भने त्यसको मूल्य ३० रुपैयाँ पर्न जान्छ । नेपालमा भने साे स्यानिटाइजरकाे मूल्य १२० देखि १६० भन्दा बढी पर्छ ।