पीसीआर परीक्षण मात्रै समाधान होइन, सावधानी अपनाऔं: मेयर शाक्य

<p>काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकासँगै उपत्यकाभरी नै कोरोना संक्रमणको दर दिनप्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गरेका छन् । ‘काठमाडौँ महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ ‘हामी सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्छ । हामी कोही पनि त्रसित हुनु पर्दैन । [&hellip;]</p>

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकासँगै उपत्यकाभरी नै कोरोना संक्रमणको दर दिनप्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘काठमाडौँ महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ ‘हामी सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्छ । हामी कोही पनि त्रसित हुनु पर्दैन । तर, सावधानी सबैले अपनाउनै पर्छ,’ उनले भने ।

उपत्यकावासीले यसअघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको स्मरण गराउँदै प्रमुख शाक्यले अझै केही सयम कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरे ।

‘संघीय, प्रदेश र स्थानीय सरकार कोरोना नियन्त्रणको प्रयासमा निरन्तर लागेका छन्, ‘सरकारले गरेको आग्रहलाई पूर्णपालना गरी तपाईंहरुले सावधानी अपनाउनु भयो भने संक्रमणको संम्भावना निकै कम हुन्छ । सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनुभयो भने हामी उपचार गर्न तयार छौँ । तीन ओटै सरकार कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लागेको छ । कोरोनाका कारण सकेसम्म कसैले पनि ज्यान गुमाउने अवस्था आउनु हुँदैन भन्नेमा संघ, प्रदेश र स्थानीय तह सचेत छन्,’ मेयर शाक्यले थपे ।

उनले लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा पुनः कोरोनाको संक्रमण फैलिदै गएको भन्दै पछिल्लो समय उपत्यका भित्रिनेको संख्यामा भएको उल्लेख्य वृद्धिले संक्रमणको खतरा बढेको बताए ।

‘परीक्षण गरेर आउनेले आफू र अरुलाई पनि सुरक्षित बनाए, तर, लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका अशान्त भयो,’ मेयर शाक्यको भनाइ छ ।

मेयर शाक्यले सावधानी नअपनाउने तर पीसीआर परीक्षणमा मात्रै ध्यान दिने हो भने त्यसले मुलुकको ठूलो धनराशी खर्च हुने र अर्थतन्त्रमा समेत नराम्रो असर गर्ने बताए ।

‘पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परीक्षण मात्र हो । यो औषधी होइन र यसले कोरोना रोकथाम गर्दैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने ५ लाख ८९ हजार ८ सय ९९ सयको आरटी पीसीआर टेष्ट गर्दा ३० हजार ४ सय ८३ जना व्यक्तिको कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने ।

त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च भएको भन्दै शाक्यले एउटा पोजेटिभ व्यक्ति भेट्न सरकारले १ लाख ४ हजार ६ सय ३० खर्च गरेको स्मरण गराए ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्क अनुसार पीपीई वाहेक ल्याब टेष्टमा मात्रै एक जनाका लागि नेपाल सरकारको ५ हजार ५ सय खर्च गरेको छ । त्यसपछिको उपचारका लागि आइसीयुमा ३० दिन राख्नुपर्दा ४ लाख ५ हजार खर्च हुन्छ, त्यसैले यस्तो खर्चिलो पीसीआर परीक्षण जथाभावी रुपमा गरेर दुरुपयोग नगरौँ,’ उनको भनाइ छ ।

उनले संक्रमणको सम्भावना भएका र गर्नैपर्ने बाहेकका व्यक्तिले निशुल्क हो, मेरो पनि एक पटक गरौँ न त भन्ने होडवाजीमा जथाभावी परीक्षण गर्ने हो भने त्यसको दुरुपयोग हुनेतर्फ पनि संकेत गरे ।

‘गर्नेपर्ने व्यक्ति छ भने राज्यले खोजी–खोजी परीक्षण गर्छ । तर, निशुल्क पाइयो भनेर र पहुँचका भरमा आशंका नै नभएका व्यक्तिले पनि पटक–पटक परीक्षण गर्ने हो भने सम्भावित संक्रमितको पहुँचमा परीक्षण नपुग्ने अवस्था हुनसक्छ, त्यसले राज्यलाई अनावश्यक आर्थिक बोझ मात्रै थुपार्छ । त्यसैले तपाईंहरु बढी त्रसित नहुनुहोस् । तर, जसग रहनुहोस् । कोरोना संक्रमणको सम्भावित व्यक्तिलाई खोजी–खोजी परीक्षण गर्छौं र संक्रमितको उपचार गर्छौं,’ उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा १० ओटा कन्ट्राक्ट ट्रेसिङ टोली बनाएर काम गरिरहेको उनले जानकारी दिए । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै संक्रमितको संख्या करीब १५ सय पुगेको छ भने होम आइसोलेशनमा बस्नेको संख्या करीब ३ सय ५० छ ।

Share News