ललितपुर। सरकारी निर्णय विपरित निजी क्षेत्रका हस्पतालहरुको आरडिटी विधिबाट कोरोना परीक्षणलाई जारी राखेका छन् ।
आरडिटी विधिबाट कोभिड–१९ रोगको परीक्षण गर्दा त्यसको नतिजा विश्वासिलो नभएको भन्दै सरकारले एन्टिबडिमा आधारित आरडिटी परीक्षणमा रोक लगाएको थियो ।
तर निजी क्षेत्रका अस्पतालहरुले सर्वसाधारणसँग महँगो शुल्क लिएर सोही विधिबाट कोरोना जाँच गरिरहेका छन् । ललितपुर जिल्लाको पुल्चोकस्थित निदान अस्पतालले कोरोना परीक्षणको नाममा आरडिटी परीक्षण गराउँदै आएको र उपभोक्तासँग प्रतिव्यक्ति १ हजार ७ सय ८० रुपैयाँ शुल्क लिने गरेको पाइएको छ ।
गत शुक्रबार मात्र होटल भिभान्तामा कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण आरडिटी विधिबाट गरेको पाइएको छ । ग्रुपमा आएका कर्मचारीको गर्दा प्रतिव्यक्ति १ हजार ३ सय ४० लिएको छ । अस्पतालले शुक्रबार नै व्यक्तिगत तवरले चेक जाँच गर्दा १ हजार ७ सय ८० रुपैयाँ लिइको कागजपत्र विकासन्युजले प्राप्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले एन्टिबडिमा आधारित आरडिटीबाट कोभिड–१९ जाँच बन्द गरिएको बताए । ‘विरामीको जाँच गर्न आरडिटी विधि प्रयोग गर्न पाइदैन । अनुसन्धानको लागि मात्र प्रयोग गर्न पाउने नियम रहेको छ’ उनले भने ।
यदि कुनै पनि स्वास्थ्य संस्थाले अहिले पनि कोभिड–१९ पत्ता लगाउनको लागि एन्टिबडिमा आधारित आरडिटी परीक्षण गराइरहेको छ भने त्यसलाई नियम अनुसार कारवाही हुने उनले बताए ।
तर निधान हस्पिटलका प्रमुख कार्यकारी अधिकृत विपिन प्रधानले सरकारी निर्णयबारे अनविज्ञता व्यक्त गरे । ‘आरडिटी विधिबाट जाँच बन्द गर्ने सरकारको निर्णयबारे हामीले औपचारिक पत्र पाएका छैनौं । सार्वजनिक सूचना आएको भए हाम्रो जानकारीमा छैन’ उनले विकासन्युजसँग भने ।
कोडिभ १९ शंका लागेको विरामीको ल्याव टेष्टका लागि आवश्यक नमूना पीसीआर गराउनु पर्दा टेकु वा पाटन अस्पताल पठाउने गरेको र विशेष रिक्वष्ट आएको अवस्थामा आरडिटी गराउने गरेको पनि उनले बताए ।

आरडिटी किट
पहिला सरकारले आरडिटी टेष्टलाई मान्यता दिएकोले त्यतिबेला नै किनिएको किटहरुको प्रयोग गरी आरडिटी टेष्ट गरेको तर नयाँ परीक्षण सामाग्री खरिद नगरेको पनि उनले बताए । उनको यो भनाईले आरडिटी परीक्षणमा सरकारले लगाएको बन्देज जानकारी भएको तर पहिले नै किनिएका किटको उपयोगका लागि आरडिटी परिक्षण जारी राखेको प्रष्ट भएको छ ।
के हो एन्टिबडिमा आधारित आरडिटी परीक्षण ?
सरुवा रोग विशेषज्ञ डा अनुपा बास्तोलाको अनुसार शरीरमा कोरोना भाईरसले प्रवेश गरिसकेपछि शरीरले त्यस विरुद्ध लड्ने एन्टिबडि उत्पादन गर्दछ । त्यही एन्टिबडि छ कि छैन भनेर पत्ता लगाउने विधिलाई एन्टिबडिमा आधारित आरडिटी परीक्षण भनिन्छ ।
कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई एन्टिबडि आईजीएम र आईजीजी हुन् । आईजीएम एन्टिबडी रोग लागेको सामान्यता एक हप्तापछि शरीरले उत्पादन गर्दछ । यो कहिले उत्पादन हुन्छ भन्ने पनि व्यक्ति पिच्छे फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहन्छ ।
त्यस्तै, आईजीजी एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ । सुरुमा रोग लागि सकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ ।
यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर एजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ ।
त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ ।
यस विधिमा धेरै प्रश्न उठेपछि सरकारले केही महिना अघि यस परीक्षणलाई रोक लगाएको छ । यसलाई अनुसन्धानको लागि प्रयोग गर्न पाउने नियम रहेको छ ।
के हो एन्टिजेन्टमा आधारित आरडिटी परीक्षण ?
एन्टिजेन्टमा आधारित आरडिटी परीक्षणले कोरोनाभाईरसको प्रोटिणको कणलाई पत्ता लगाउने गर्दछ । यसलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको लागि मान्यत दिएको छ ।