कोरोना संक्रमणको उच्च जोखिममा बैंकका कर्मचारीहरु

<p>काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थामा संक्रमणको दर बढ्न थालेको छ । धेरै मान्छेको भीडभाड हुने भएकाले बैंक तथा वित्तीय संस्था सम्भावित बढी जोखिमका क्षेत्र हुन् । हालसम्मको तथ्याङ्क अनुसार पछिल्लो समय सबैभन्दा बढी संक्रमण स्वाथ्यकर्मीमा देखिएकोछ । त्यसपछि बढी संक्रमण देखिनेमा बैंकरहरु रहेका छन् [&hellip;]</p>

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थामा संक्रमणको दर बढ्न थालेको छ । धेरै मान्छेको भीडभाड हुने भएकाले बैंक तथा वित्तीय संस्था सम्भावित बढी जोखिमका क्षेत्र हुन् ।

हालसम्मको तथ्याङ्क अनुसार पछिल्लो समय सबैभन्दा बढी संक्रमण स्वाथ्यकर्मीमा देखिएकोछ । त्यसपछि बढी संक्रमण देखिनेमा बैंकरहरु रहेका छन् । अत्यावश्यक सेवा अन्तर्गत पर्ने र निषेधाज्ञाको समयमा पनि खुल्ने भएकाले पनि उनीहरुमा कोरोना संक्रमणको जोखिम रहेको र संक्रमणको दर पनि बढ्दै गएको हो ।

ग्राहकहरुको धेरै भीडभाड हुने र बैंकका कर्मचारीलाई नै संक्रमण देखिन थालेपछि पछिल्लो समय सर्वसाधारणमा त्रास फैलिँदै गएको छ ।

पहिले उपत्यका बाहिरका बैंकका कर्मचारीमा कोरोना संक्रमणको दर उच्च रहेको थियो भने हाल उपत्यका भित्रका बैंकका कर्मचारीहरुमा संक्रमणको जोखिम बढ्दै गएको छ ।

तनहुँको बन्दीपुरस्थित बैंकमा कार्यरत एकै घरका दुई बैंकर श्रीमान् श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । तनहुँमा गरिमा विकास बैंकमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैंकमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैंकलाई एक हप्ताको लागि कार्यालय बन्द गर्न निर्देशन दिएको थियो ।

त्यस्तै, नवलपुरको प्रभु बैंक शाखाका एक कर्मचारी पनि कोरोनाबाट संक्रमित भएको थिए ।

सिद्धार्थ बैंकको पोखरा लेकसाइड शाखाका एक कर्मचारीमा संक्रमण देखिएर उक्त शाखा एक हप्तासम्मको लागि सिल गरिएको थियो । त्यस्तै, उक्त संक्रमित व्यक्तिकै एक परिवार जो तालचोकको राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी थिए, उनमा पनि संक्रमण पुष्टि भएको थियो ।

बर्दियाको गुलरिया र बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिका गरेर चार बैंकका ९ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । गुलरियाको एक बैंकका २ जना, बाँसगढीको २ वटा बैंकमा १ र ५ जना तथा बढैयाताल गाउँपालिकाको एक बैंकमा १ जना कर्मचारी कोरोनाबाट संक्रमित भएका थिए ।

त्यस्तै, उपत्यका पनि विभिन्न बैंकका विभिन्न शाखाका कर्मचारीहरु कोरोनाबाट संक्रमित भएका छन् । थापाथलीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्राइम बैंकको केन्द्रीय कार्यालयमा कार्यरत करिब २० जना कर्मचारी पनि कोरोनाबाट संक्रमित भएका थिए ।

लुम्बिनी विकास बैंकको मुख्य कार्यालयमा पनि संक्रमण देखिएको छ । बैंकका डेपुटी सीईओ उमेश रेग्मीका अनुसार उक्त कार्यालयका सबै कर्मचारी आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, बैंक अफ काठमाण्डूका ३ वटा शाखाका स्टाफलाई संक्रमण देखिएको छ ।

उता एभरेष्ट बैंकको मुख्य कार्यालयमा पनि संक्रमण देखिएको थियो । उक्त कार्यालयमा कार्यरत दुई कर्मचारीका संक्रमण पुष्टि भएसँगै बैंकले दुई दिनसम्म उक्त कार्यालय बन्द गरेको थियो ।

त्यस्तै, सनराइज बैंकको गोंगबु शाखाका १० जना कार्यरत कर्मचारी मध्ये ६ जना कर्मचारीमा कोभिड १९ पोजेटिभ देखिएको थियो ।

यी त केही उदाहरण मात्र हुन् । हालसम्म दर्जनौंभन्दा बढी बैंक तथा वित्तीय संस्थाका कर्मचारी कोरोनाबाट संक्रमित भइसेकेका छन् ।

हालसम्म कुन बैंकका कति कर्मचारीमा संक्रमण देखियो भन्ने तथ्याङ्क नरहेको नेपाल बैंकर्स संघका सीईओ अनिल शर्माले बताए ।

‘तथ्याङ्क राख्ने कि भन्ने प्लान भइरहेको थियो । तर अहिलेसम्म राखिएको छैन । दिनका दिन चेञ्ज भइरहन्छ । डेल्ली रिर्पोटिङ साध्य नहुने भएर अपडेट राख्नै गाह्रो । त्यसैले राखेका छैनौं’, उनले विकासन्युसँग भने ।

यससँगै नेपाल राष्ट्र बैंकका कर्मचारीमा पनि संक्रमण भएको थियो । संक्रमण पुष्टि भएपछि बैंकले अत्यावश्यक कर्मचारीलाई मात्र कार्यालय बोलाएर अन्य कर्मचारीलाई घरबाटै काम गर्नेगरी कार्ययोजना बनाएको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि होम आइसोलेशनमा बसेका थिए । उनीसँग सम्पर्कमा आएका एक इञ्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी स्वेच्छिक रूपमा आफूआइसोलेशनमा बसेका हुन् ।

कोरोना संक्रमणको दर बढेसँगै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई पनि आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरी वित्तीय सेवा दिन र घरबाट काम गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैंक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ परिपत्रमा भनिएको थियो ।

दुई सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन समेत निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले अहिले डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन निर्देश गरेको थियो । इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराई रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ । बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाई सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिन निर्देश गराएको थियो ।

त्यसपछि बैंकर्स संघले पनि साधारण कामका लागि पनि बैंक नआई डिजिटल माध्यमलाई नै बढी प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।

बैंकिङ कारोबार गर्नका लागि डिजिटल बैंकिङ्गको माध्यमबाट प्रायः जसो सबै प्रकारका दैनिक कारोबार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताउँदै आएको छ ।

यस्तै, डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शाखामा फोन मार्फत् सम्पर्क गर्न समेत संघले अनुरोध गरेको छ ।

‘हामीले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड भित्रै बसेर काम गरिरहेका छौं । सरकारको प्रोटोकल हुन्छ । त्यसबाहेक हामीले ग्राहकसँग डिल गर्दा गर्नुपर्ने प्रोटोकल फलो गरेर काम गरिरहेका छौं । बाँकी इन्टर्नल गाइडलाइन्स तयार गरेका छौं । हाल त्यसरी नै काम गरिरहेका छौं’, संघका सीईओ शर्मा बताउँछन् ।

Share News