काठमाडाैं । सरकारले काेराेना छिटाे पत्ता लगाउने एन्टिजेन परीक्षणकाे शुल्क १ हजार ताेकेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एन्टिजेन परीक्षणकाे अधिकतम शुल्क १ हजार ताेकेकाे जानकारी दिए ।
असाेज १५ गते बसेकाे मन्त्रिस्तरिय बैठकले एन्टिजेन परीक्षणकाे शुल्क १ हजार ताेकेकाे गाैतमकाे भनाइ छ । करिब १ घण्टाभित्रमा नतिजा आउने यस परीक्षण विधिले तत्काल अपरेसन गर्नुपर्ने अवस्थामा निकै सहयाेग पुराउने उनले बताए ।
गाैतमले यसमा प्रयाेग हुने किट एफडिए र इयुए मान्यता प्राप्त किट वा स्वास्थ्य सेवा विभागबाट स्विकृति प्राप्त हुनुपर्ने बताए । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट अनुमति प्राप्त ल्याबले मात्र यसकाे परीक्षण गर्ने पाउने उनकाे भनाइ छ ।
नेपालमा पनि एन्टिजेन परीक्षण गर्ने भनेर सरकारले असाेज २० गते निर्णय गरेकाे थियाे । विशेष गरेर अमेरिका र उत्तर काेरियामा प्रयोग भएकाे यस परीक्षणमा स्वाब लिएर परीक्षण गरिन्छ तर यसकाे नतिजा छिटाे हुनुकाे साथै र ठीक हुने सम्भावना ८५ देखि ९० प्रतिशत रहेकाे छ । जबकि पीसीआरकाे नतिजा आउन विभिन्न कारण लामाे समय लाग्नुकाे साथै ठिक हुने सम्भावना पनि ७० प्रतिशत मात्र रहेकाे छ ।
पीसीआरको विकल्प हो ?
कुनै पनि व्यक्तिको शरीरमा कोरोना छ कि छैन भनेर पत्ता लगाउनको लागि नेपालमा हाल पीसीआर परीक्षण गरिन्छ । नतिजा आउन पनि समय लाग्ने यस परीक्षण जटिल र महंगो रहेको छ । यद्यपि, यो परीक्षणलाई हालसम्मकै विश्वासिलो परीक्षण गर्ने प्रविधि मानिन्छ ।
तर, यस परीक्षणको नतिजा आउन समय लाग्ने गरेको कारण तत्काल उपचार गराउनु पर्ने बिरामीहरु उपचार नपाएको तथ्यहरु सार्वजनिक भइरहेका छन् । स्वास्थ्यकर्मीले कोरोना परीक्षणको नतिजा नआएसम्म अपरेसनहरु सुरु नर्गेन कारणहरु पनि पीसीआर प्रविधि तत्काल उपचार गरिहाल्नुपर्ने बिरामीका लागि समस्या जस्तै बनेको छ ।
करिब ६ देखि ७ घण्टामा नतिजा दिने यस विधिमा विभिन्न कारण नतिजाहरु ढिलो आउने गर्छ, जसकारण केही बिरामीहरुले ज्यान समेत गुमाउन पुगेका छन् ।
के हो एन्टिजेन बेस्ड टेष्टिङ ?
सरकारले गत असोज २० गतेदेखि निकै छिटो नतिजा दिने एन्टिजेन बेस्ड टेष्टिङ सुरु गर्ने निर्णय गरेको थियाे । प्रवक्ता प्राडा. गाैतमले हालसम्म कतैबाट यसलाई अनुदानको रुपमा पाइन्छ कि भनेर खोजिरहेको बताए ।
गौतमको अनुसार एन्टिजेन बेस टेष्टिङ पीसीआर जस्तै शरीरमा कोरोना भाईरस छ कि छैन भनेर पत्ता लगाउने परीक्षण हो । यो निकै छिटो नतिजा दिने विधि भएको गौतमको भनाइ छ ।
‘भाइरसमा एन्टिजेन हुन्छ, जब शरीरमा भाइरसले प्रवेश गर्छ, त्यो ‘मल्टिप्लाई’ हुन्छ, यदि त्यतिखेर मानिसको शरीरबाट स्वाबलाई लिएर टेष्ट गर्ने हो भने त्यसको नतिजा पोजेटिभ आउँछ । यस अगाडि प्रयोग भएको आरडिटी विधी भने त्यही एन्टिजेनसँग लड्नको लागि शरीरले उत्पादन गर्ने एन्टिबडिको परीक्षण हुने हो, जुन हाल सर्वेक्षणहरुका लागि मात्र प्रयोग हुन्छ,’ उनले भने ।
गौतमका अनुसार एन्टिजेन्ट बेस्ड टेष्टिङले बढिमा १ घण्टामा नतिजा दिने गर्छ । पीसीआर परीक्षणको नतिजा आउन विभिन्न कारणले २४ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।
विशेष गरेर अमेरिका र उत्तर कोरियाले यस्तो परीक्षणलाई प्रयोगमा ल्याएका छन् ।
पीसीआर परीक्षणबाट सही नतिजा आउने सम्भावना करिब ७० प्रतिशत रहे पनि एन्टिजेन बेस्ड टेष्टिङको सही नतिजा आउने सम्भावना ८५ देखि ९० प्रतिशत रहेको प्राडा. गौतमले बताए ।
‘एन्टिजेन टेस्टिङले भाइरस नभएर त्यसको एन्टिजेन पत्ता लगाउने हो । यदि यस परीक्षण गर्दा नतिजा पोजेटिभ आयो भने त्यो पोजेटिभ नै हो । तर यदि कुनै मानिसको नतिजा नेगेटिभ आयो तर उसमा कोरोना सम्बन्धित लक्षण छ भने त्यसलाई पीसीआर गर्नुपर्छ,’ गौतमले भने ।
एन्टिजेन परीक्षणको लागि संकलन गरिएको स्वाबमा भाइरसको मात्रा बढी भए सही नतिजा आउने सम्भावना अधिक हुने जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दिक्षित बताउँछन् ।
‘एन्टिजेन परीक्षणका लागि संकलन गरिएको स्वाबमा भाइरसको मात्रा कम छ भने यसले सही नतिजा देखाउने सम्भावना कम हुन्छ,’ जनस्वास्थ्य वैज्ञानिक डा दिक्षितले भने ।
यस परीक्षणमा श्वाव निकाल्न बाहेक बाँकी काममा सामान्य जनशक्तिले पनि गर्न सक्ने दिक्षित बताउँछन् ।
एन्टिजेन बेस्ड टेष्टिङ मुख्य गरेर ३ वटा अवस्थामा, पहिलो आर्मी ब्यारेकहरु, दोस्रो धेरै मानिसलाई एकै ठाउँमा परीक्षण गर्नुपरे र तेस्रो तुरुन्त कोही मान्छेको अपरेसन जस्ता उपचार गर्नुपर्ने व्यक्तिहरुमा एन्टिजेन टेस्टिङ हुने प्राडा गौतमले बताए ।