पीसीआरको नतिजाः मन्त्रीको एक दिनमै, जनताको ७ दिनमा

<p>काठमाडौं । वीर अस्पतालको फिमेल युरो सर्जरीको बेड नम्बर ३२ मा २६ दिनदेखि बसिरहेका ४५ वर्षीय एक विरामीको हिजो (२८ असोजमा) मृत्यू भयो । उनको ५ दिनअघि संकलन गरिएको स्वावको रिपोर्ट आएको थिएन । अस्पतालले उनलाई कोभिड–१९ को संक्रमित भनेर व्यवहार गरिरहेको थियो । तर, हिजो (असोज २८ गते) राती ९ बजेतिर उनको पीसीआर रिपोर्ट [&hellip;]</p>

काठमाडौं । वीर अस्पतालको फिमेल युरो सर्जरीको बेड नम्बर ३२ मा २६ दिनदेखि बसिरहेका ४५ वर्षीय एक विरामीको हिजो (२८ असोजमा) मृत्यू भयो । उनको ५ दिनअघि संकलन गरिएको स्वावको रिपोर्ट आएको थिएन । अस्पतालले उनलाई कोभिड–१९ को संक्रमित भनेर व्यवहार गरिरहेको थियो ।

तर, हिजो (असोज २८ गते) राती ९ बजेतिर उनको पीसीआर रिपोर्ट आयो । रिपोर्टले उनमा कोरोना भाइरस नेगेटिभ देखायो । जबकि उनको हिजो नै साढे ४ बजेतिर निधन भइसकेको थियो । उनको निधन भएको करिब १५ मिनेटपछि डाक्टर आए, अनि उनको ‘डेथ सर्टिफिकेट’मा हस्ताक्षर गरेर गए । समयमै डाक्टर आएर हेरिदिएको भए उनको मृत्यू नहुने परिवारले दाबी गरिरहेका छन् ।

उदाहरण अर्काे पनि छ । वीर अस्पतालको बेड नंम्बर ८ मा बसिरहेका नारायण पौडेलमा असोज १२ गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए । पौडेल अस्पताल भर्ना भएको ठ्याक्कै १७ दिन पुगेको छ । सुरुसुरुमा निकै गाह्रो भएको उनलाई हाल त्यस्ता कुनै पनि प्रकारको समस्या छैन । तर पनि उनी अस्पतालकै बेडमा बसिरहेका थिए ।

कारण हो, पीसीआर परीक्षणको नतिजा । पौडेल चार दिनदेखि पीसीआर परीक्षणको नतिजा कुरेर बसिरहेका छन् । नतिजा समयमा आएर घर जान पाए आफूलाई पनि सजिलो हुने र अस्पतालमा कसैले बेड पनि पाउने उनी बताउँछन् ।

‘मेरो स्वाब संकलन भएको ४ दिन कट्यो, अझै यसअघि म नजिकै बस्ने एकजना मान्छेको ७ दिनपछि मात्र नतिजा आएर बल्ल डिस्चार्ज भए, ममा अहिले कुनै लक्षण छैन, सम्भवतः मेरो नेगेटिभ रिपोर्ट आउँछ होला, रिपोर्ट आए म घर जान्थे, यो बेड अर्काे कुनै गम्भीर अवस्थाको विरामीले प्रयोग गर्न पाउँथ्यो,’ पत्रकार पौडेलले बुधबार साँझ भनेका थिए ।

नभन्दै उनकै अनुमान जस्तो रिपोर्ट आयो । बुधबार राती १० बजेतिर न्याम्सको वेबसाइटमा राखिएको विवरणमा आफ्नो नतिजा नेगेटिभ रहेको जानकारी पाएको उनले बिहीबार अपरान्ह सुनाए ।

‘बेड नम्बर २८ मा पत्रकार कमल बस्नेत पनि हुनुहुन्छ, उहाँ र म एकैदिन अस्पताल आएका हौं भने एकै दिन संकलन गरिएको स्वाबमा उहाँमा पनि कोरोना पोजेटिभ देखिएको थियो, हिजो (बुधबार) राती १० बजेतिर हामी दुबै जनाएको रिपोर्ट नेगेटिभ आएको न्याम्सको वेबसाइटबाट थाहा पायौं, अस्पताल प्रशासनले हामीलाई अझै जानकारी गराएको छैन, तर डाक्टर आएपछि डिस्चार्ज हुनको लागि हामी सामानहरु प्याक गरिरहेका छौं,’ अस्पतालमै रहेका पत्रकार पौडेलले बिहीबार अपरान्ह भने ।

सरकारले अस्पताल भर्ना भएको १० दिनपछि पिसिआर परीक्षण गरी नेगेटिभ आए तत्काल डिस्चार्ज गर्न र पोजेटिभ आए थप ४ दिन राखेर बिनापरीक्षण डिस्चार्ज गर्न नियम बनाएको छ । तर, यो पनि नियममा मात्रै सिमित भएको देखियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई गत शनिबार पाटन अस्पतालमा पीसीआर परीक्षण गर्दा आईतबार कोरोना संक्रमण पुष्टि भयो । लक्षण देखिएका पोखरेल तत्काल अस्पताल भर्ना भए । तर, शनिबार राति ९ बजे कोरोना परीक्षण गराएका उनका स्वकीय सचिव पुरन केसीको भने अहिलेसम्म नतिजा आइपुगेको छैन ।

किन ढिलो आइरहेको छ नतिजा ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले उपत्यकाका सरकारी ल्याबहरुको दैनिक परीक्षण गर्ने क्षमता २ सयदेखि ३ सय रहेका बताइन् । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भने दैनिक १८ सय देखि २ हजार परीक्षण क्षमता भएको बताइन् ।

ल्याबहरुले ७ दिनसम्म पनि नतिजा नदिने कारण बारे सोध्दा डा. झाले जनशक्तिको कमी नै मुख्य समस्या रहेको बताइन् ।

‘कोभिडको लागि भनेर छुटै नयाँ कर्मचारीहरु थपिएका छैनन्, भएका जनशक्तिहरुलाई नै मिलाएर राखिएको हो, जसले गर्दा कामहरु समयमा हुन सकिरहेका छैनन्, प्राईभेट ल्याबहरुसँग दाँजेर हेरिदिनु भएन, सामान्यतः नतिजाहरुका ३ दिनमा आउँछन्,’ डा झाले भनिन् ।

झाले बिहान संकलन भएको स्वाबहरु ल्याबमा साँझमात्र आइपुग्ने बताइन् ।

वीर अस्पतालको ल्याबमा कार्यरत कर्मचारीका अनुसार पछिल्लो हप्ता नयाँ चाइनिज किट आएको कारण त्यसलाई जान्न र प्रभावकारी बनाउन नै समय लागेको कारण पनि नतिजा आउन ढिलो भएको हो । कहिल्यै नाम नसुनेको किट आएपछि यस्तो समस्या आएको ती कर्मचारीले बताए ।

सामान्यतः नतिजा सही दिन खोज्दा पनि ढिलो हुने गरेको अर्का एक कर्मचारीले बताए ।

‘हामीले सकेसम्म सही नतिजा आओस भनेर दोहोर्याएर परीक्षण गर्छौं, धेरै ल्याबहरुमा यस्तो हुँदैन, मलिकुलर ल्याब संचालन गर्ने देशकै पहिलो ल्याब भएको कारण हामीलाई हाम्रो विश्वसनीयता कायम गर्नुछ, जसको कारण पनि नतिजा केही ढिलो आउँछन्, तर सही आउँछन् तर, यो ८ महिनाको अवधिमा पछिल्लो हप्ता मात्र यति लामो समय लागेको हो, हामी हिजोबाट फेरि पनि पहिलाकै अवस्थामा आइसक्यौं,’ वीर अस्पतालको ल्यावमा काम गर्ने एक कर्मचारीले भने ।

पीसीआर ईमरजेन्सी टेष्ट हैन

विभिन्न सरकारी अस्पतालका ल्याबमा काम गर्ने डाक्टरहरु पीसीआरलाई मानिसले सामान्य र सजिलो परीक्षणको रुपमा लिएर गलत धारणा बनाइरहेका बताउँछन् । करिब ६ देखि ७ घण्टासम्ममा नतिजा आउने यस परीक्षणको एक्युरेसी ७० प्रतिशत मात्र रहेको छ, जसको कारण फल्स रिर्पोट आउने सम्भावना पनि रहन्छ ।

पीसीआर परीक्षण ईमरजेन्सी परीक्षण होइन, यसमा काम गर्ने दक्ष्य जनशक्ति चाहिन्छ, स्याम्पल प्रोसेस गर्न नै २ देखि ३ घण्टा लाग्छ, स्वाब संकलन हुने बित्तिकै ल्याबमा आइपुग्दैन, ल्याबमा स्वाब आएपनि कहिले फर्म आउँदैन, जसले झन् ढिलो हुन्छ, ८ महिनादेखि हामी ७ जना कर्मचारीहरु शनिबार पनि बिदा नलिई काम गरिरहेका छौं, डाक्टारहरुले त बुझ्दैनन् हाम्रो कुरा, अन्य सामान्य व्यक्तिहरुले गुनासो गरे भनेर के भन्नु ?’ वीरको ल्यावमा काम गर्ने अर्का एक कर्मचारीले भने ।

दैनिक कति जनाको हुदैछ पीसीआर ?

पछिल्लो एकहप्ताको तथ्यांक हेर्ने हो भने नेपालमा दैनिक १० देखि १३ हजार जनाको पीसीआर परीक्षण भइरेहेको छ । देशभर हाल ६१ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुने गर्दछ ।

Share News