काठमाडाैं । काेराेना भाइरसमा गन्ध हुने र यस्ताे गन्ध कुकुरहरुले पत्ता लगाउन सक्ने बैज्ञानिक नेपाल नामक संस्थाले प्रकाशन काेराेनाका सय सवाल सम्बन्धि डिजिटल पेपरमा उल्लेख गरिएकाे छ । तर कोरोना भाइरसमा कस्तो गन्ध हुन्छ जसलाई सुँघेर कुकुरले पत्ता लगाउन सक्छ भन्ने कुरा चाँहि ठ्या्क्कै भन्न गाह्रो भएकाे उसले जनाएकाे छ ।
काेराेना भाइरसकाे गन्ध मानिसले भने चाल पाउन नसक्ने उसले जनाएकाे छ । ‘कुकुरले कोरोना भाइरसबाट लाग्ने कोभिड–१९ मात्र हैन अरु पनि रोगहरु जस्तै स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, डायेबेटिज, मलेरिया, आदि पनि पत्ता लाउन सक्छ’ प्राज्ञ दिनेशराज भुजु, डा. नारायणप्रसाद कोजू र डा. मीना बोहराले सम्पादन गरेकाे उक्त पेपरमा लेखिएकाे छ ।
कुकुरलाई प्रयोग गरेर कोरोना भाइरस पत्ता लगाउने विधि फिनल्यान्डको हेल्सिन्कि विमानस्थलमा प्रयोगमा आइसकेको पनि काेराेनाका सय सवालमा लेखिएकाे छ । यस्ताे विधि छिटो र प्रभावकारी पनि देखिएको पनि उनीहरूले उल्लेख गरेका छन् ।
तालिम प्राप्त कुकुरले मानिसको जीउ वा उसको पसिना, पिसाब, आदि सुँघेर तिनमा कोरोना भाइरस भए वा नभएको पत्ता लगाउँछ । यसको लागि १० सेकेन्ड मात्र समय लाग्छ ।
प्रयोगशालाहरुमा गरिएको परीक्षण अनुसार यसको नतिजा ९४ प्रतिशत सही भेट्टिएको छ । कुकुरहरुमा सुँघ्नसक्ने उच्च शक्ति हुन्छ । यसको कारण उनीहरुमा पाइने घ्राण–ग्रन्थीहरु (Olfactory glands) हुन् । यो उनीहरुको नाकको भित्री भागमा पाईन्छ । कुकुरमा करिब ३० करोडको संख्यामा घ्राण–ग्रन्थीहरु पाइन्छन्, जबकि मानिसमा त्यस्तो ग्रन्थी ६० लाख मात्रै हुन्छ ।