काठमाडौं । ग्रामीण क्षेत्रमा कोरोना संक्रमण भुसको आगो जस्तै गरी फैलिएपनि स्वाव संकलन हुन छोडेको छ । संक्रमण पहिचानकको लागि गरिने पीसीआर परीक्षण शुल्क ल्यावसम्म पुर्याउन स्थानीय तहले समन्वय नगर्दा स्वाव संकलन नै रोकिएको छ ।
सरकारले तोकिएका लक्षित समुह बाहेकको निःशुल्क स्वाव परीक्षण नगर्ने नीतिगत व्यवस्था गरेपछि आफूहरुले स्वाव संकलन गर्न छोडेको स्थानीय तहहरुले बताएका छन् । लक्षण देखिएका व्यक्तिहरुको स्वाव संकलन गरेर आफूहरुले नजिकको तथा तोकिएको ल्यावमा स्वाव पठाउने गरेको भएपनि पछिल्लो व्यवस्था अनुसारको शुल्क रकम पठाउन झन्झट भएकोले स्वाव संकलन रोकिएको जानकारी दिए ।
सरकारले प्रतिस्वाव परीक्षणको शुल्क २ हजार रुपैयाँ तोकेको छ । केही निजी ल्यावहरुले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेका छन् ।
‘हाम्रै गाउमा कोरोनाको लक्षणसँग शतप्रतिशत मिल्दो लक्षण भएका धेरै व्यक्ति छन्, उनीहरुलाई सार्वजनिक सवारी साधनमा धुलिखेल वा वर्दिवास गएर स्वाव दिएर आउँ भन्न सकिएन, यहीं स्वाव संकलन गरेर ल्यावमा पठाउन पनि पैसा कसरी पठाउने भन्ने समस्या रह्यो, यहाँबाट पठाएको पैसा गन्ने बेलामा पुगेन भन्ने कुरा आयो भने त्यसको जवाफदेही को हुने ? यस्ता धेरै समस्या देखिए,’ रामेछापको एक पालिकाका प्रमुखले भने ।
संघीय सरकारले परीक्षणको शुल्क तोकेपनि स्थानीय तहले संकलन गरेको स्वावको रकम भुक्तानी गर्ने व्यवस्था नमिलाउँदा यस्तो समस्या आएको हो । रामेछाप जस्तो सुगम र राजधानीबाट निकै नजिक रहेको जिल्लामा पनि यस्तो समस्या छ भने अन्य दुर्गम क्षेत्रको समस्या अझ जटिल भएको छ ।
संघीय सरकारले तोकेअनुसारको प्रतिनमुना परीक्षण शुल्क स्थानीय तहसँग पछिअसुल गर्ने वा सम्बन्धित ल्यावको बैंक खातामा रकम जम्मा गरेको भौचरका आधारमा गरिदिने व्यवस्था भए सहज हुने पालिकाहरुले बताएका छन् ।
‘जुन पालिका वा स्वास्थ्य संस्थाले नमुना संकलन गरेर जुन ल्यावमा पठाउँछ, सो ल्यावले सो पालिका वा स्वास्थ्य संस्थासँग बाँकी देखाएर स्वाव परीक्षण गर्ने व्यवस्था एउटा विकल्प हुन सक्छ, अर्काे भनेको ल्यावले बैंक खाता दिने, सो बैंक खातामा रकम जम्मा गरिदिएको भौचरका आधामा स्वाव परीक्षण गर्ने अर्काे विकल्प हुन सक्छ, सम्बन्धित व्यक्तिहरुसँग पालिका वा स्वास्थ्य संस्थाले रकम लिन्छन्, तर यहाँ त कुनै विकल्प नै नदिइ स्वाव संकलन गरे पनि परीक्षण गराउन नमिल्ने अवस्था आयो,’ सिन्धुलीको एक पालिकाका प्रमुखले भने ।
ल्यावको छेउछाउकाको मात्रै परीक्षण
ल्यावको नजिक नरहेका व्यक्तिहरुले ल्यावमा गएर स्वाव दिन सक्ने अवस्था नआएपछि नमुना परीक्षणको संख्या नै घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक १० गते ५ हजार ६ वटा नमुनाको पीसीआर परीक्षण भएको थियो जसमा १ हजार ७ सय ४१ जनामा संक्रमण पुष्टी भएको थियो ।
कात्तिक १२ गते ८ हजार २ सय ४८ वटा नमुनाको पीसीआर परीक्षण हुँदा १ हजार ९ सय ५४ मा संक्रमण पुष्टी भएको थियो ।
यस्तै, कात्तिक १३ गते ९ हजार ७ सय ६९ वटा नमुनाको पीसीआर परीक्षण गरिएको थियो, जसमा २ हजार ३ सय ६५ मा संक्रमण पुष्टी भएको थियो । कात्तिक १४ गते १४ हजार ९ सय ८९ वटा नमुनाको पीसीआर परीक्षण हुँदा ३ हजार ५ सय ३७ जनामा संक्रमण पुष्टी भएको थियो ।
यस्तै, कात्तिक १५ गते ९ हजार २ सय ७९ वटा नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ८ मा संक्रमण पुष्टी भएको थियो । कात्तिक १६ गते १३ हजार २३ वटा नमुनाको पीसीआर परीक्षण भएको थियो, जसमा २ हजार ८ सय २४ मा संक्रमण पुष्टी भएको थियो ।
ल्यावको नजिक रहेका व्यक्तिहरुले स्वतस्फूर्त रुपमा परीक्षण गराएका कारणले मात्रै अहिले नमुना परीक्षणको संख्या धेरै देखिएको हो । ल्यावभन्दा टाढा रहेका सर्वसाधारणले कोरोना भाइरस संक्रमणको शतप्रतिशत लक्षण देखिए पनि स्वाव परीक्षणको शुल्क बुझाउने प्रणालीको अभावमा परीक्षण गर्न पाएका छैनन् ।