काठमाडौं, २२ असार । नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको अभाव नरहेको स्पष्ट पारेको छ । आयल निगमले बुधबार सार्वजकि सूचना प्रकाशित गर्दै बजारमा कुनै पनि प्रकारका इन्धनको अभाव नरहेकाले अधिक इन्धन संग्रह नगर्न उपभोक्तालाई आग्रह गरेको हो ।
आपुर्ति मन्त्री गणेशमान पुनले मंगलबार दुई दिन भित्र जनताको आवश्यकता अनुसार इन्धन उपलब्ध गराउन आयल निगमलाई निर्देशन दिएका थिए । उनले आम सर्वसाधारणलाई इन्धन अभाव नरहेको जानकारी तत्कालै उपलब्ध गराउन समेत निर्देशन दिएका थिए ।
निगमले नारायणगढ–मुग्लिन सडक खण्डमा गएको पहिरोका कारण इन्धन ढुवानीमा केहि समस्या उत्पन्न भएको तर बजारमा अभाव हुने अवस्था नरहेको जानकारी गराएको हो । पछिल्लो समयमा निगमले साविक भन्दा १५० देखि २०० प्रतिशतसम्म बढि इन्धन आयात गरिरहेको समेत जनाएको छ ।
बुधबार आपुर्ति मन्त्री पुनले मुग्लिनको पहिरोकै कारण बजारमा अभाव सुरु भैसकेको बताउँदै पुल भाँचिँदा के हुन्छ ? भनि निगमसँग प्रति प्रश्न गरेका थिए ।‘केहि समय सडक अवरुद्ध हुँदा बजारको यस्तो अवस्था छ, पुल भाच्चियो भने के हुन्छ, त्यसकारण दुई दिन भित्र जनतालाई राहत दिनुस्’, मन्त्री पुनले निर्देशन दिएका थिए ।
यसैबिच निगमले आइओसीसँग पारादिप डिपोबाट इन्धन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । निगमले हाल इन्धन ल्याईरहेका डिपोहरुले सो भन्दा बढि मात्रामा इन्धन दिन नसक्ने जनाएपछि निगमले पारादिप डिपोबाट इन्धन ल्याउन लागेको हो ।‘पारादिप डिपोले जति पनि इन्धन दिन्छु भनेको छ, उपभोक्तालाई मुल्यभार नपर्नेगरि त्यहाँबाट इन्धन ल्याउँछौं’, आपुर्ति मन्त्री पुनले भने ।