काठमाडौँ, २८ असार । वेरोजगारी युवाहरूलाई आकर्षक तलवको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी ठगी गर्ने वाग्लुङ्ग देवीस्थान–६ घर भई दाङ्ग तुलसीपुर–५ बस्ने ३५ बर्षीय होम बहादुर छन्त्याललाई प्रहरीले पक्राउ गरेको छ ।
छन्त्यालले युवाहरुबाट लाखौ रुपैयाँ उठाई रहेको सूचना महानगरीय अपराध महाशाखामा प्राप्त भएपछि खटिएको प्रहरी टोलीले छन्त्याललाई खोजिरहेको थियो । उनी कहिले थाईल्याण्ड, कहिले दुवई बस्ने गरेको बुझिएको र निजले ठुलो संजाल बनाई ठगी गरी रहेको तथा इराकमा ३७ जना व्यक्ति पठाएकोमा ३४ जना फर्किएको खुल्न आएपछि उनको खोजी तिब्र परिएको थियो ।
छन्त्याल विरुद्ध पीडितहरू नवलपरासी घर हुने जयश्वर घिमिरे, अशोक बुर्जा, दाङ्ग घर हुने सुदिप नेपाली, रविन परियार, केशव परियार, डम्बर बहादुर बुढाथोकी, सल्यान घर भएका खर्कविर घर्ती, दाङ्ग शान्तीनगर घर भएका टिकराम घर्तिमगर, रोल्पा होजा घर भएका तारासिंह बुढा र रोल्पा जुगार घर भएका शिवराज पुनमगरले अपराध महाशाखामा आफुहरूलाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी प्रतिव्यक्ति ४ लाखदेखि ६ लाख ५० हजार रुपैयाँसम्म लिई थाईल्याण्डमा पु¥याई आफु भागी फरार रहेकोले कारवाहीको लागि निवेदन दिएका थिए ।
प्रहरीले छन्त्याललाई आइतबार काठमाडौँ महानगरपालिका सुन्धाराबाट पक्राउ गरेको हो । निजको विरुद्धमा हालसम्म ६६ लाख १५ हजार विगोको उजुरीहरू प्राप्त भै सकेको छ । निजले पठाएको ६ जना व्यक्तिहरू हाल दुवईमा अलपत्र परिरहेकोले उद्धार गर्न पहल गरिएको साथै इराकमा पठाएकाहरू मध्ये काम नपाई फर्किएका ३४ जनालाई सम्पर्कमा ल्याउन पहल भइरहेको छ । उनलाई ठगी मुद्धामा आवश्यक अनुसन्धान एवं कारवाहीको सोमबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।