काठमाडौं । देशभरका धेरै जसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेका छन् । आज (शुक्रबार) मात्रै देशका ५ महानगरपालिकाले बजेट प्रस्तुत गरेका छन् भने पोखरा महानगरले बजेट ल्याउन सकेको छैन । नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भएको हो ।
देशभरका ७ सय ५३ स्थानीय तहमध्ये कतिपय बजेट ल्याइसकेको छने भने कति ल्याउने क्रममा पनि छन् । देशका ५ वटा महानगरपालिकाले भने बजेट विनियोजन गरि सकेका छन् । पोखरा महानरगपालिका बाहेक ५ वटा महानगरपालिकाले कुल ४३ अर्ब ८५ करोड ८७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । महानगरपालिकाले आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।
चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयलाई महानगरले प्राथमिकताका साथ बजेट प्रस्तुत गरेका छन् ।
अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार नै आज बजेट प्रस्तुत गरेका छन् ।
कुन महानगरको बजेट कति ?
काठमाडौं महानगरपालिका
६ वटै महानगरपालिकामध्ये सबैभन्दा ठूलो महानगर काठमाडौं महानगरपालिका हो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेकी हुन् । महानगरपालिकाले चालु आर्थिक वर्ष भन्दा दोबर बजेट पेश गरेको छ । चालु आर्थिक २०७८÷७९का लागि १८ अर्ब ९५ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।
महानगरको ११ औं नगरसभामा स्थानीय संचित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रम लागि ५० करोड २१ लाख २४ हजार विनियोज गरेको छ । यस्तै, पुर्वाधार लागि महानगरपालिकाले ११ अर्ब १८ करोड ८९ लाख ३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महानगरका अनुसार नेपाल र प्रदेश सरकारबाट प्राप्त हुने ससर्थ अनुदान तर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजारको स्रोत सुनिश्चित भएका छ ।यस्तै महानगरले सामाजिक विकासको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार रुपैयाँ र सुशासन क्षेत्रको लागि ४ अर्ब ४६ लाख ५८ लाख ४० हजार विनियोजन गरेको छ ।
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । ललितपुर महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले बजेट मार्फत् जनाएको छ ।
ललितपुर महानगरपालिकाले महानगर क्षेत्र भित्रको र बागमती करिडोर क्षेत्रको जग्गा पुनः नापी गर्ने भएको छ । महानगरपालिकाले डिजाइन मापदण्ड अनुसार ‘ट्रान्सपरेन्ट ग्रीन फेन्स’ नीतिलाई निरन्तरता दिने नीति तथा बजेटमा उल्लेख छ । यस्तै, ललिपुर महानगरपालिकाले सुरक्षा चुनौती नभएका सरकारी, अर्धसरकारी कार्यालयका कम्पाउण्ड क्षेत्र पारदर्शी हुने गरी काम गर्ने योजना बनाएको छ ।
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९÷०८० का लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम गर्दै महानगरपालिकाले बजेट ल्याएको हो । चालु आर्थिक वर्ष २०७८÷७९ का लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन गर्दै महानगरले २ अर्ब ३२ करोड ८१ लाख १६ हजार हुने अनुमान गरेको छ ।
आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानी तर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख, प्रदेश सरकारबाट २ करोड ६१ लाख ९७ हजार, राजस्व बाँडफाँडबाट मूल्य अभिवृद्धि कर अन्त शुल्क २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिष्ट्रेसनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारी साधन कर प्रदेशबाट प्राप्त हुने ३ करोड ९९ लाख ४७ हजार रुपैयाँ रहेको छ ।
यस्तै, सशर्त अनुदान संघीय सरकारबाट ७२ करोड १७ लाख, प्रदेश सरकारबाट ९० लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड ४० लाख, जिससबाट करोड, करुणा फाउन्डेसनबाट ९० लाख, युएनएफपिए आइपास सिएमसीबाट २० लाख, सडक बोर्डबाट १ करोड ५० लाख, विशेष अनुदान ४० करोड, आन्तरिक राजस्व १ अर्ब, जनसहभागिता ८ करोड र नगर विकास कोषबाट ऋण १० करोड १९ लाख रुपैयाँ आम्दानीको अनुमान गरिएको छ ।
विराटनगरपालिकाले पूर्वाधार विकास, उद्योगि क्षेत्र, कर आदिका विषयलाई उच्च प्राथमिकता दिदै बजेट ल्याएको हो ।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को भन्दा झण्डै १ अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको छ । जुन चालु आर्थिक वर्षको बजेटभन्दा १९.३९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । एघारौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा सतह ढल निर्माण गरेपछि मात्र सडक कालोपत्रे गर्ने नीति महानगरले लिएको हो । ठूला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न सङ्घ तथा प्रदेश सरकारको स्रोतसँग समपूरक साझेदारी कोष स्थापना गर्न छ करोड बजेट विनियोजन गरिएको छ ।
महानगरपालिकाको एकीकृत सहरी विकास गुरुयोजना तर्जुमा गर्ने, महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा सतह ढल निर्माण, विद्युतीय बसको खरिद गर्ने, महानगरभित्र अत्यावश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण, भरतपुरको मुख्य सहरी क्षेत्रलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले स्याटेलाइट टाउनको सम्भाव्यता अध्ययन, हरियालीसहितको नमूना सडक निर्माण, सिँचाइ, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, आकाशे पुल निर्माण, आयोजना बैंक निर्माणलगायतका सहरी सौन्दर्य र भूउपयोग तथा बस्ती विकाससम्बन्धी नीति कार्यान्वयन गर्नको लागि २८ करोड विनियोजन गरिएको छ ।
नक्सा प्रणालीलाई व्यवस्थित गर्नुका साथै विद्युतीय नक्सा पास प्रक्रियालाई सुदृढ गर्ने र भवन संहितासम्बन्धी तालिम सञ्चालन गर्नको लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ । कृषि तथा पशु विकासतर्फ १५ करोड ५० लाख विनियोजन गरिएको छ । शिक्षामा १३ करोड छुट्याइएको छ । महानगरपालिकाभित्र ग्राबेल सानातिना मर्मत तत्काल कार्यान्वयन गर्नको लागि रु आठ करोड बजेट विनियोजन गरिएको छ ।
वीरगञ्ज महानगरपालिका
वीरगञ्ज महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९÷८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । यस महानगरपालिकाले पनि चालु आर्थिक वर्षको भन्दा कम नै बजेट ल्याएको हो । चालुआर्थिक वर्षमा महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
महानगरपालिका अनुसार चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार बजेट रहेको छ ।यसमा महानगरपालिकाले पनि पुर्वाधार विकास कृषि, शिक्षा, स्वास्थ्य आदि क्षेत्रलाई प्रथमिकता दिएर बजेट ल्याएको छ ।