
संखुवासभाको खाँदवारी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हुन् महेश थपलिया । उनी निर्वाचित भएको करिब २ महिना भयो । निर्वाचित भएपछि कार्यकालको पहिलो नीति तथा कार्यक्रम र बजेट पनि प्रस्तुत भइसकेको छ ।
मेयर पदमा निर्वाचित थपलियाले शिक्षा, स्वास्थ्य, सडक निर्माणसँगै व्यावसायिक क्षेत्रका रूपमा स्थापित खाँदवारीलाई व्यवस्थित सहर बनाउने योजना बनाएको बताउँछन् । थपलिया निर्वाचित भएसँगै हरेक क्षेत्रको सुधार र परिवर्तनको अपेक्षा नगरवासीले लिएका छन् ।
जनताको साथ र काममा थपलिया प्रतिबद्ध छन् । पूर्वाधार विकासमा उच्चतम फड्को मार्ने सोच राखेका थपलियाले २ वर्ष भित्रमा नगर बस सञ्चालन ल्याउने तयारीमा जुटेका छन् । उनै मेयर थपलियासँग नगरको विकास, प्राथमिकता र योजनाका विषयमा विकासन्युजका राजिव न्यौपानेले कुराकानी गरेका छन् ।
नगर प्रमुखको रूपमा निर्वाचित हुन भएको करिब २ महिना हुन लाग्यो, खाँदवारीको मुख्य समस्याको रूपमा के देख्नु भएको छ र समाधानका लागि तपाईंको भूमिका के कस्तो रहन्छ ?
खाँदवारी नगरपालिका भित्र यावत् समस्याहरू छन् । सडकको स्तरोन्नती कम भएका छन् । शिक्षाको क्षेत्रको विकास कसरी गर्ने भन्ने सन्दर्भमा पनि धेरै समस्याहरू छन् । शिक्षा क्षेत्रमा लगानी कम भएको महसुस हामीले गरेका छौं । कतिपय विद्यालयमा दरबन्दी नै छैन । दरबन्दी नभएका विद्यालयमा शिक्षक राख्नु पर्यो, विद्यालयको आयस्रोत नभएपछि यसको व्यवस्थापन नगरले गर्नुपर्ने हुन्छ ।
नगरपालिकाले सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्दै छ । किनभने विगतमा सेवा प्रवाह कम भयो भन्ने महसुस गरेका छौं । उत्पादनको वृद्धितर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । समस्या आयो भने आत्तिँदैनौँ, यसको समाधान गरेर नै हामी अगाडि बढ्ने छौं ।
तपाईंको कार्यकालको पहिलो नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नु भएको छ, यसलाई कार्यान्वयन गरेर कसरी अगाडि बढ्ने सोचमा हुनहुन्छ ?
हो हामीले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पनि ल्याएका छौं । विगत वर्षमा १ वटा वडालाई ४० देखि ४५ लाख रुपैयाँसम्ममात्र बजेट विनियोजन गरिन्थ्यो । यस पटकदेखि नगर भित्रका वडालाई पनि जिम्मेवारी बनाउने र वडा बाटै दीर्घकालीन योजनाको पनि निर्माण सुरु गर्नुपर्छ भन्ने हिसाबले बजेट ल्याएका छौं । यस वर्षदेखि प्रत्येक वडामा १ करोड रुपैयाँसम्म बजेट छुट्याएका छौं ।
वडामा तर्जुमा गरेर पठाएको योजनाहरूमा छलफल गरी अगाडी बढ्ने परिस्थितिको सिर्जना गरेका छौं । नगरको सुधार र विकासका लागि थुप्रै प्याकेज ल्याएका छौं । बजेटमा गौरवका आयोजनाहरू पनि समावेश गरेका छौं । रेहाङ ढोलबाजे पार्कलाई व्यवस्थित रूपमा अगाडि बढाउन गौरबको आयोजनाको रूपमा राखेको छौं । रहेले ढोलबाजेसम्म लिफ्टीङ खानेपानी आयोजनाको काम सुरु गर्ने भएका छौं । अरुणबाट गुथाटारसम्म लिफ्टीङ खानेपानी आयोजनाको अगाडि सारेका छौं । नगर बस सञ्चालन गर्ने कार्यदेखि लिएर थुप्रै कार्यक्रम अगाडि सारेका छौं ।
भौतिक पूर्वाधारको क्षेत्रमा यहाँको प्राथमिकताको योजनाहरू के–के छन् ? कसरी अगाडि बढाउने सोच्नुभएको छ ?
खाँदवारी नगरपालिकाबाट प्रत्येक वडाको वडा कार्यालयसम्म जोड्ने सडक कालोपत्रे हुनुपर्छ भने योजना बनाएको छौं । त्यही अनुसार प्रक्रिया अगाडि बढाएका छौं । नगरपालिकाबाट अन्य पालिका खाँदवारी हेलुवाबेसी, सीलीचुङसम्म जोड्ने सडक ठेक्कामा गई निर्माणको कार्य अगाडि बढी रहेको छ । त्यसलाई अझ सशक्त बनाई यस निर्माण सम्पन्न गरी सो रुटमा नगर बस सञ्चालन गर्ने योजना बनाएका छौं । त्यस्तै, चैनपुर र पाँँचखपन, खाँदबारी नगरपालिका भित्र, सभापोखरी गाउँपालिका र खाँदबारीकै तुम्लीङटारदेखि वडा नं. ४ को छ्याङकुटीसम्म नगर बस सञ्चालन हुनेछ । यी बाटाहरूलाई पहिलो प्राथमिकतामा राखेर कालोपत्रे गर्ने योजना छ र, बाँकी अन्य बाटालाई परिमार्जन गर्ने र स्तारोन्नती गर्ने लक्ष्य राख्ने छौं ।
खाँदावारी नगरपालिका कृषिको क्षेत्रले निकै महत्वपुण मानिन्छ, व्यावसायिक कृषि खेती गर्ने नगरपालिकाले कृषकलाई कस्ता सहयोग गर्ने लक्ष्य राखेको छ ?
नगर भित्र प्राय वितरण मुखी कृषि खेती हुने गरेको छ । नगरले उत्पादनमूलक कृषि खेतीतर्फ जानु पर्छ भनी रहेको छ । जसले नगदे बालीका ५ हजार बिरुवा व्यवासायिक रूपमा रोप्छ, भने हेरेर ५० प्रतिशत भन्दा बढी नगरले अनुदान उपलब्ध गराउँछ । उत्पादन गरेको बस्तु बेच्नका लागि बजार चाहिन्छ । बजार अब किसानले हैन नगरपालिकाले खोज्छ । नगरले बजार खोजेर किसानले उत्पादन गरेको चिज नगरपालिकाको कुनै संयन्त्रले सो बस्तुको खरिद गरी बजारको व्यवस्था नगरपालिकाले गर्नुपर्छ भन्ने मान्यता राखेको छौं । यसो गर्याे भने किसानले उत्पादन सुरु गर्छन् ।
किसानसँग हामी यो कुराको उत्पादन गरिदिनु होस्, प्रतिवर्ष मूल्यको निर्धारण गछौं, यो वर्षको मूल्य यति हो भनेर भन्छौं । किसानले उत्पादन गरेको कृषि उपज नगरपालिकाले खरिद गर्ने व्यवस्था मिलाउँछ । कृषि नगर भित्रका नागरिकको आम्दानीको स्रोत पनि हो । नगरले कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने नै छ । अब कृषकले उत्पादन गर्ने, नगरले बजार व्यवस्थापन र कृषिका कार्यक्रम ल्याउनेछ । कृषि क्षेत्र युवालाई पनि संलग्न गराई रोजगारी सिर्जना गर्ने पनि सोच छ ।
नगर भित्रमा धेरै सडक कालोपत्रे हुन बाँकी छन्, बर्खाको समयमा प्राय हाइवे बाहेक सबै सडक बन्द हुने अवस्थामा छन्, यस्ता सडकको स्तारोन्नती तथा कालोपत्रे गर्ने बारेमा केही सोच बनाउनु भएको छ ?
सडक कालोपत्रे गर्ने हाम्रो लक्ष्य मै छ । लक्ष्य परिपूर्ति गर्नको लागि रकम चाहिन्छ । रकम संघ र प्रदेश सरकारले कति दिन्छ भन्ने कुरा हो । नगरको मात्रै आय स्रोतले सबै सडकको कालोपत्रे र स्तारोन्ती गर्न सम्भव हुँदैन । नगर भित्रका सबै सडकको कालोपत्रे गर्न ३ हजार किलोमिटर पुरा गर्दा पनि भ्याउँदैन । त्यस कारण यति नै कालोपत्रे हुन्छ भनन् सक्ने अवस्था छैन । हामीले प्रयास गरिरहेका छौं । हाम्रो आन्तारीक आय वाह्य रकम कति आउँछ र आवश्यकतालाई हेरेर कालोपत्रे गछौं । प्राय नगरको सबै गाउँमा सडक पुगेको भएर नयाँ ट्रयाक ओपन गर्नेलाई कम महत्व दिएका छौं । मेरो कार्यक्रममा बाह्रौ महिना सञ्चालनमा आउने तयारीमा लाग्छौं ।
अघिल्ला निर्वाचित जनप्रतिनिधिले पालिकामा कस्तो काम गरेको पाउनुभयो ?
उहाँहरूले पनि आफूले सक्दो काम गर्नु नै भएको होला । पहिलाको कार्यपालिकाले जे काम अगाडि सारेको थियो सो कार्यक्रमलाई पनि मैले निरन्तरता दिने प्रक्रिया अगाडि बढाएको छु । उहाँहरूसँग मेरो कुनै टिकाटिप्पठी छैन । त्यो समयमा कोभिडका कारण सोचेजस्तो काम गर्न पाउनु भएन होला । त्यसकारणले अब हामीले काम गर्ने हो । हामीले केही योजनाहरू बनाएका छौं ती योजनाहरूलाई हामीले पूर्ण तरीकाले अगाडि बढाउने हो । त्यो काम गर्दा नगरपालिकाले छलाङ् हान्न सक्छौं । त्यसैले नगरवासीलाई बढी मात्रमा सेवा सुविधा दिन सक्छौं भन्ने छ ।
जनशक्ति विकासको लागि प्रमुख आधार मानिएको शैक्षिक क्षेत्रको विकासको लागि यहाँको योजनाहरू के छन् ?
अबको शिक्षा व्यवासायिक, प्राविधिक धारतर्फ उन्मुख र रोजगारी मूलक हुनपर्याे । नगरभित्र १५ वटा प्लसटुका विद्यालयहरू छन् । सो विद्यालय मध्ये २ वटा विद्यालयमात्र प्राविधिक धारतर्फ उन्मुख छ । यो ५ वर्ष भित्रमा क्रमिक रूपमा सबै विद्यालयलाई प्राविधिक धारतर्फ उन्मुख गराउँछौं । केही विद्यालयलाई मर्ज गर्नुपर्ने स्थिति छ । यो प्रक्रियालाई पनि अगाडि बढाएर गुणस्तरीय शिक्षालाई कसरी व्यवस्थित गरेर जाने हो भन्ने विषयमा हामी तयार छौं । अबको ५ वर्षपछि नगर भित्रका प्लस्टुका विद्यालयहरू प्राविधिक र सम्पुण विद्यालयमा गुणस्तर शिक्षा हुने छ ।
स्वास्थ्य क्षेत्रको विकासका लागि कस्ता योजनाहरू बनाउँनु भएको छ ?
हाम्रो नगरको प्रत्येक वडामा आधारभूत स्वास्थ्यचौकीहरू व्यवस्थित छन् । सबैलाई व्यवस्थापन गरी अझै सेवा सुविधाहरू थप्ने योजनामा छौं । गाउँगाउँमा गएर स्वास्थ्य परीक्षण गर्ने काम पनि हामी गर्ने छौं । खाँदवारी नगरपालिका भित्र हेल्प डेक्स राख्ने भनेका छौं ।
यहाँ समग्र यो नगरपालिको प्रमुख भइरहँदा यहाँले यो पदको अवसर र चुनौतीलाई कसरी लिनुभएको छ ?
हामी जनताबाट चुनिएर निर्वाचित भएका छौं । यसलाई मैले खाँदबारीको विकासका लागि अवसरको रूपमा मानेको छु । ५ वर्षको योजना लिएर हामी अगाडि बढेका छौं । अत्यन्तै जिम्मेवार भएर खाँदवारीलाई अगाडि बढाउँछौं ।