काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीका बुबा आमाको नाममा ट्रष्ट स्थापना गर्नेगरी रकम विनियोजन गरेको पाइएको छ ।
प्रदेशले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मुख्यमन्त्री तथा मन्त्रीका बुबाआमाको नाममा कोष भर्न, ट्रष्ट चलाउन डेढ करोड रकम विनियोजन गरिएको पाइएको हो ।
उक्त कोषका लागि भन्दै सबैभन्दा धेरै रकम शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई दिईएको छ । मुख्यमन्त्रीका बुवाको नामको कोषलाई ५० लाख र शिक्षामन्त्री श्रेष्ठका बुवा–आमाको नामको ट्रष्टलाई एक करोड रूपैयाँ सरकारी ढुकुटीबाट दिन लागिएको हो ।
मुख्यमन्त्री पोखरेलले बुवा गोबद्र्धन शर्माको नामको कोष (तनहुँ, व्यास नगरपालिका–१० लाई) मा ५० लाख रूपैयाँ विनियोजन गरेका छन् ।
शिक्षामन्त्रीले नलिने घोषणा
गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट नलिने बताएका छन् ।
उनले प्रदेशका अर्थमन्त्री रामजी बराललाई उक्त रकम हटाइदिन आग्रह गरेका हुन । उनका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड बजेट छुट्याएको थियो ।
उनले टष्ट्रबाट फिर्ता भएको बजेट असहाय, जेष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग गर्न आग्रह समेत गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले बजेट मार्फत आफ्ना बुवा–आमाको नाममा सरकारी कोषमा रजाइँ गरेको भन्दै विरोध भइरहेको छ । उक्त विरोधपछि शिक्षामन्त्रीले रकम नलिने घोषणा गरेका हुन ।
गण्डकी प्रदेश सरकारले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको थियो ।