काठमाडौं । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । पानीले सडक बिग्रिएर पूर्ण क्षमतामा फोहोर ढुवानी हुने नसकेपछि महानगरले जीवातु राखेर प्लाष्टिकले फोहोर छोपेको हो ।
महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालका अनुसार शहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेशनबाट स्थानीयलाई पर्ने असर न्युन हुने उनले बताए ।
प्लाष्टिकले छोपिएको ट्रान्सफर स्टेशन अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । ‘आज घाम लागेको छ, यो अवसरलाई छोपेर हामी थप गाडी परिचालन गर्नेछौं, स्टेशनमा फोहोरको मात्रा घटाउने छौं,’ उनले भने ।
टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ ।