काठमाडौं । सिराहाको लहान नगरपालिकालाई कम्पोष्ट मल उत्पादन गर्ने ट्रिटमेन्ट प्लान्ट जडान गर्न सकस परेको छ । नगरपालिकाले उक्त प्लान्ट जडान गर्ने जग्गा उपलब्ध गराउन नसक्दा सकस परेको हो ।
नगरले २ वर्षअघि फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्न ट्रिटमेन्ट प्लान्ट जडान योजना अगाडि सारेको थियो । तर, प्लान्ट जडान गर्ने उपयुक्त जग्गा नपाएको कारण प्लान्ट निर्माणको काम अगाडि बढाउन नसकेको नगरपालिकाले जनाकारी दिएको छ ।
नगरले अव्यवस्थित रूपमा फालिएको फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी कम्पोष्ट मल बनाउन उक्त योजना अगाडि बढाएको हो । तर, नगरपालिकाले प्लान्ट जडान गर्ने योजना बनाए पनि हालसम्म प्लान्ट निर्माणको काम भने हुन सकेको छैन ।
नगरले सो काम अगाडि बढाउन नसक्दा योजनाको काम अन्योलमा परेको छ । प्लान्ट जोड्ने नगरपालिकाको योजना भएपनि प्लान्टका बनाउने वर्तमान मेयरहरुले राम्रोसँग पहल नगरेका कारण योजनाको काम अलपत्र अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम नन्द भूषालले बताए । नगरपालिकाले २०७७ सालबाट नै प्लान्ट जडान योजना अगाडि सारेको थियो ।
नगरले कम्पोष्ट मल उत्पादन गर्न प्लान्ट जडान पश्चात् फोहोर व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा राखेर उक्त काम अगाडि बनाउने योजना बनाएको पनि भूषालले बताए । वर्षौंदेखि फोहोरको समस्यालाई झैल्दै आएको नगरको सबैभन्दा ठूलो चुनौति जस्तै बनेको छ ।
फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा सडकको पेटीमा फोहोरको थुप्रो हप्तौं पहाड जत्रो भए बस्ने गरेको छ । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नगरले सो योजनाको काम अगाडि बढाएको हो । तर, प्लान्ट जडान गर्ने सुरसार भने छैन ।
‘हामीले प्लान्ट सरकारी जग्गामा बनाउन खोजेका थियौं, सरकारी जग्गा वडाको छेउमा पर्ने भएकाले वडाबाट पनि विरोध आयो र, हामीले जहाँ प्लान्ट निर्माण गर्न लागेको थियौं, त्यहाँका स्थानीयले विरोध गरेपछि काम अगाडि बढाउन नसकेका हौं,’ उनले भने । नगरपालिकाले उक्त प्लान्ट जडान गर्नको लागि करिब ८ करोड रुपैयाँको बजेट छुट्याएको छ ।
भूषालका अनुसार यो प्लान्ट निर्माण निर्माण गर्नको लागि १० कट्ठा जमिनको आवश्यक पर्छ । नगरपालिकाले वडा नं. ४ मा सो प्लान्टको निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको थियो । तर, नागरिक स्तरबाट नै विरोध भएपछि हाल नगरपालिकाले वडा नं. ३ मा प्लान्टको निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
सो ठाउँमा पनि प्लान्ट जडान गर्न नदिन भनेर विरोध भइरहेका पनि भूषालले बताए । नगरपालिकाले प्लान्ट जडान गर्नको लागि ठेक्का लगाइसकेको छ । निर्माणकर्ताले प्लान्टको काम १ वर्ष भित्रमा सकिने गरी नगरले ठेक्का लगाएको हो ।
लामो समयदेखि प्लान्ट जडान नगरले गर्न नसक्दा पटक–पटक नगर विवादमा मुछिएको छ । नगरपालिकाले जग्गाको टुङ्गो लगाएरमात्र प्लान्टको ठेक्का लगाउनु पर्ने हो । तर, नगरले पूर्व तयारी नगरीकन प्लान्ट जडान नगरले कार्यक्रम ल्याएकाले यो अवस्था आएको पनि जानकारी दिए ।
प्लान्टबाट निर्माण गरिसकेकपछि उत्पादन गरिएको मल नगरपालिकाले कृषि योग्य जमिनमा प्रयोग गर्नेछ । फोहोरबाट कम्पोष्ट मल उत्पादन भएपछि फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाको अपेक्षा छ । अब नगरपालिकाले घरघरमा पुगेर फोहोर किनेर यसैबाट आयआर्जन बढाउने, रोजगार दिने र पर्यटक समेत भित्र्याउने लक्ष्य प्लान्ट जडानको योजना बनाएको भूषाले जानकारी दिए ।
पहिलो पटक मेसिनबाट कुहिने फोहोरजन्य पदार्थ प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्यले सफा र स्वच्छ लहना नगर हुने विश्वास स्थानीयको थियो । तर, प्लान्ट जडानको कामले गति लिन नसेपछि स्थानीय पनि विरोधमा उत्रिएका छन् ।
फोहोर व्यवस्थापन नहुँदा फोहोर नै मुख्य समस्याका रूपमा रहेको र अब मेसिनबाट प्रशोधन गरेर मल उत्पादन शुरु भएपछि फोहोरजन्य पदार्थ नगरको राम्रो आयस्रोत बन्ने उनले बताए ।
‘फोहोरजन्य नकुहिने पदार्थलाई नगरपालिकाले अन्यत्र बिक्री गर्ने तयारी गरेको छ, मेसिनबाट उत्पादन गरिएको मलले बालीनालीलाई राम्रो बनाउने अपेक्षा नगरपालिकाले लिएर यो योजना अगाडि बढाएका हौं, प्लान्ट जडानको काम अब ढिलाइ भइगयो, यसको लागि नवनिर्वाचित जनप्रतिनिधिहरुले पनि पहल गरिरहनु भएको छ,’ उनले भने ।
भूषालका अनुसार जग्गा व्यवस्थापन गरिसकेको केही महिनामा नै प्लान्ट जडान गर्ने काम सुरु हुनेछ । ‘नागरिक स्तरबाट वडा नं. ३ मा पनि विरोध भइरहेको छ, अब त्यही ठाउँमा प्लान्टको निर्माण हुन्छ होला, नागरिकहरूसँग सहकार्य गरी तत्कालै काम अगाडि बढाइ आगामी आर्थिक वर्षबाट नै सुरु गरी हाल्छौं,’ उनले भने ।