काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यका भित्र हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने भएको छ । प्राधिकरणले उपत्यका भित्रका पालिकाहरूसँग साझेदारी गरेर सो फुटपाथका निर्माण गर्ने भएको हो ।
उपत्यकका ३ शहर काठमाडौं, भक्तपुर र ललितपुर भित्रका पालिकामा हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने योजना रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता नारायण प्रसाद भण्डारी बताए । प्राधिकरणले सो योजना चालु आर्थिक वर्ष २०७९/८० मा समावेश गरेको छ ।
प्रवक्ता भण्डारीका अनुसार यही वर्षभित्र फुटपाथ निर्माणको काम सुरु भई सम्पन्न हुनेछ । उपत्यका भित्रका विभिन्न सडकमा हरियाली सहितको फरक क्षमता मैत्री फुटपाथ निर्माण हुनेछन् ।
सबैको लागि हिँड्न उपयुक्त हुने गरी फुटपाथ निर्माण गर्ने लक्ष्य लिएको पनि भण्डारीले बताए । उक्त फुटपाथ निर्माण गर्नको लागि प्राधिकरणले १४ करोड रुपैयाँ विनियोजन गरेको छ । उनका अनुसार अपाङ्गमैत्री फुटपाथका निर्माण गर्नको लागि प्राधिकरणले काठमाडौंमा ६ करोड, भक्तपुरमा ३ करोड र ललितपुर जिल्लामा ५ करोड रुपैयाँ गरी कुल १४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सो फुटपाथ उपत्यका पालिकाहरूसँग प्राधिकरणले साझेदारी गरेर निर्माण गर्ने पनि भण्डारीले बताए । केही दिनअघि मात्र प्राधिकरणले फुटपाथ बनाउन इच्छुक पालिकाहरूलाई प्रस्तावको आव्हान गरेको थियो ।
जसमध्ये केही पालिकाले प्राधिकरणलाई प्रस्ताव पेश गरेको पनि भण्डारीले बताए । अपेक्षा अनुसारको प्रस्ताव चाहिँ पेश भएको छैन ।
भण्डारीका अनुसार सोही किसिमका फुटपाथ निर्माण गर्न इच्छुक पालिकाले साउन अन्तिमसम्म प्रस्ताव पेश गर्न सक्ने छन् । प्रस्ताव पेश भएका पालिका भित्र सम्पुर्ण अध्ययन तथा डिपिआर तयार गरी फुटपाथ निर्माणको कार्य अगाडि बढाइने प्राधिकरणले जानकारी दिएको छ ।
पालिकाको आवश्यकता हेरेर फुटपाथको निर्माण हुने पनि भण्डारीले बताए । कुन ठाउँमा कति किलोमिटर फुटपाथको निर्माण हुन्छ भनेर यकिन छैन ।
‘गाडी चढेर हिँड्नेले इन्धनको खपत गर्छ, पैदल हिँड्ने मान्छेले स्वास्थ्य राम्रो बनाउँछ, त्यसैले हिँड्ने मान्छेलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर हरियाली सहितको अपाङ्गमैत्री फुटपाथ निर्माण गर्ने योजना बनाएका हौं,’ उनले भने ।
प्राधिकरणले यसको सम्पूर्ण अध्ययन गरेर मात्र फुटपाथ निर्माण गर्ने योजना बनाएको छ । सर्वसाधारणको लागि हिँड्ने उपयुक्त ठाउँ फुटपाथ बनाउने सोचका साथ सो योजना समावेश गरेको पनि भण्डारीले बताए ।
‘फुटपाथ शहरका हरेक ठाउँमा निर्माण भएको छन्, तर व्यवस्थित फुटपाथ भने कतै छैन, फुटपाथमा हिँड्दा पनि सर्वसाधारण सास्ती भइहरेको छ, नगरपालिका भित्रका अव्यवस्थित फुटपाथलाई प्राथमिकता दिएर काम गर्न लागेका हौं,’ उनले भने । प्राधिकरणका अनुसार पालिकाको अति आवश्यक ठाउँमा मात्र फुटपाथको निर्माण हुनेछ । यो योजना प्राधिकरणले छिटै अगाडि बढाउने तयारीमा छ ।