एक्शनमा बालेन, अतिक्रमण हटाउन दौडधुप, संरचना हटाउन एकैदिन काठमाडौं मलदेखि कोटेश्वरसम्म

<p>काठमाडौं । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पनि आजदेखि अवैध संरचना भत्काउन सुरु गरिएको हो । महानगरका मेयर बालेन्द्र साह (बालेन) बुधबार काठमाडौंका विभिन्न ठाउँहरुमा पुगेर संरचना भत्काउनेदेखि संरचना हटाउनका लागि निर्देशन दिने काम [&hellip;]</p>

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पनि आजदेखि अवैध संरचना भत्काउन सुरु गरिएको हो ।

महानगरका मेयर बालेन्द्र साह (बालेन) बुधबार काठमाडौंका विभिन्न ठाउँहरुमा पुगेर संरचना भत्काउनेदेखि संरचना हटाउनका लागि निर्देशन दिने काम गरेका छन् ।

कामपाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको साहको सचिवालय सदस्य सुनील लम्सालले जानकारी दिए । उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ ।

सुन्धारास्थित काठमाडौँ मलको अनधिकृत रुपमा बनाइएको संरचनामा आज डोजर लगाएर भत्काएको छ । त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ भने आज नै दरबार मार्गमा केही त्यस्ता संरचना भत्काइने कामपाले जानकारी दिएको छ ।

त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पनि पत्राचार गरेको छ । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, ‘अब विगतमा झै मनोमानी चल्दैन यस कार्य नियमित रुपमा जानेछन् ।’

आजै महानगरले खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाएको हो । दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका पनि छन् ।

यस्तै, मेयर बालेनले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन पनि सुरु गरेका छन् । कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार–व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गरेको हो ।

काठमाडौंको फुटपाथ, पुल लगायतका क्षेत्रमा व्यापार–व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुहरुलाई हिँड्न गाह्रो भएको भन्दै महानगरले फुटपाथ व्यवसायीलाई हटाएको हो । यसअघि फुटपाथ व्यवयसाय सञ्चालनमा रोक लगाएपछि फुटपाथ व्यवसायीहरुले मेयर साहविरुद्ध काठमाडौं महानगरपालिका कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए ।

Share News