व्यापारीले स्वस्फूर्त हटाउँदै अनधिकृत संरचना, समाधान होला त अव्यवस्थित पार्किङ ?

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पछिल्लो समय पार्किङको सुविधा नभएका बेसमेन्टसहितको भवनमा निरीक्षण बढाएका छन् । अहिले उनी कतिपय ठाउँमा डोजर नै लिएर पुग्ने गरेका छन् भने कतिपय ठाउँमा निश्चित समयको अल्टिमेटम दिएर फर्किने गरेका छन् । उनको कार्यलाई सहयोग गर्न कतिपयले स्वस्फूर्त रुपमा पनि अनाधिकृत संरचना हटाउन थालेका छन् । नक्सापासविपरीत अण्डरग्राउण्ड [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पछिल्लो समय पार्किङको सुविधा नभएका बेसमेन्टसहितको भवनमा निरीक्षण बढाएका छन् । अहिले उनी कतिपय ठाउँमा डोजर नै लिएर पुग्ने गरेका छन् भने कतिपय ठाउँमा निश्चित समयको अल्टिमेटम दिएर फर्किने गरेका छन् ।

उनको कार्यलाई सहयोग गर्न कतिपयले स्वस्फूर्त रुपमा पनि अनाधिकृत संरचना हटाउन थालेका छन् । नक्सापासविपरीत अण्डरग्राउण्ड पार्किङमा राखिएका पसल, टहरा तथा नक्सा नै नबनाएर बनेका घर लगायत हटाउनका लागि सर्वसाधारणबाट पनि उनलाई ठूलो साथ मिलेको छ ।

ट्राफिक व्यवस्थापन नगरेका व्यवसायिक भवनहरुलाई कानूनको दायरामा ल्याउने प्रयास गरिरहेको उनलाई विभिन्न ठाउँमा अनाधिकृत रुपमा बनाएका संरचना भत्काउन व्यापारिक समूहबाट पनि साथ पाएका छन् ।

बानेश्वरमा रहेको यूएफओ ब्रान्डको पसल रहेको व्यवसायिक भवनले पार्किङ क्षेत्र बनाउन सुरु गरेको छ । उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ ।

यस्तै, अर्केड कम्प्लेक्स, रुप फेसन र माछापुच्छ्रे बैंकले सञ्चालन गरेको अवैध संरचना पनि स्वस्फूर्त रुपमा हटाउन थालिएको छ । यससँगै बानेश्वर, कोटेश्वर, तीनकुने, सुविधानगर, न्युरोड, रत्नपार्क, भोटाहिटी, महाराजगञ्ज, बालाजु, जोरपाटी, कलंकी र चाबहील क्षेत्रका व्यापारीहरुले आफै अवैध संरचना हटाउन थालेको महानगरले बताएको छ । अहिले विशेष गरेर महानगरको ध्यान बेसमेन्टसहितको भवनमा छ ।

महानगरपालिका सहरी विकास विभागका प्रमुख सुरज शाक्यका अनुसार आर्थिक वर्ष ०७५/७६ देखि ०७८/७९ सम्म काठमाडौंमा २ सय ७८ वटा बेसमेन्ट सहितका भवनहरु निर्माण भएका छन् । त्यस्तै आर्थिक वर्ष ०७५/७६ भन्दा अगाडिको समयमा पनि महानगरभित्र १ सयवटा जति त्यस्ता प्रकृतिका भवनहरु निर्माण भएको हुनसक्ने उनको भनाइ छ ।

विभागका प्रमुख शाक्यका अनुसार बेसमेन्टको स्वीकृति लिएर निर्माण गरिएका भवनहरुले कम्तिमा २० प्रतिशत क्षेत्रमा पार्किङको व्यवस्था गर्नुपर्ने हुन्छ । ‘२० प्रतिशत पार्किङलाई नै छुट्याउनुपर्ने र अन्य प्रयोजन भनेको स्टोर हो, अन्य प्रयोजन गर्न पाईंदैन’, प्रमुख शाक्यले विकासन्युजसँग भने ।

करिब ३ सय वटा व्यापारिक भवनमा पार्किङका लागि छुट्याउनुपर्ने बेसमेन्टमा मापदण्डविपरीत पसल र अन्य संरचना निर्माण गरिएको पाइएपछि महानगरले गत साउन २ मा ३५ दिने सूचना जारी गर्दै त्यस्तो क्षेत्र खाली गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशन पालना नगरिएपछि महानगरले गत सोमबारदेखि अनुगमन र अनधिकृत संरचना हटाउने अभियान नै थालेको थियो ।

समाधान होला पार्किङको समस्या ?

महानगरका अनुसार सबै बेसमेन्ट भवनमा पार्किङको सुविधा भएमा काठमाडौंको २५ प्रतिशत पार्किङको समस्या समधान हुनेछ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्ट पनि सडकमा पार्किङ हुने र सडकमा रोकिने सबै सवारी साधन बेसमेन्टमा जाने अवस्थामा सडक खुकुलो हुने बताउँछन् । सबै भवनमा पार्किङको सुविधा भएमा सवारी आवागमनमा सहजता भएर ट्राफिक व्यवस्थापनमा सजिलो हुने उनको भनाइ छ ।

‘एकलाइनमा मोटरसाइकल र गाडीको पार्किङ हुन्छ, अब बेसमेन्ट खाली भयो भने सडकमा पार्किङ हुने सवारी साधनलाई बेसमेन्टमा पठाउन सकिन्छ मान्छेले बाध्यतावश पनि फुटपाथमा पार्किङ गर्छन्, बेसमेन्टहरु पूर्ण रुपमा खाली भए भने त्यो अवस्था रहँदैन, अहिलेको पार्किङको समस्या धेरै हदसम्म समाधान हुन्छ,’ उनले भने ।

उनका अनुसार ‘सडकमा गाडी राख्न पाईंदैन ट्राफिकले कारवाही गर्छ भनेर जानकारी हुँदाहुँदै पनि मानिसले बाध्यताले सडकमा पार्किङ गर्ने गरेको बताए । सडकमा पार्किङ भइरहेका सवारी साधनहरु बेसमेन्टमा गयो भने सवारी धनी र ट्राफिक प्रहरी दुबैलाई सहज हुने उनी बताउँछन् । बेसमेन्टमा कम्तिमा ३/४ हजार सवारी साधन पार्किङको व्यवस्था हुनसक्ने अनुमान गर्दै उनले त्यसो भएमा सडकमा सवारीसाधन राख्ने दवाब घट्ने उनले बताए ।

बेसमेन्ट भएका भवनहरुमा पार्किङ भएपछि बाँकी रहने पार्किङ समस्यालाई समाधान गर्नको लागि बहुतले पार्किङ र सार्वजनिक स्थानहरुमा अन्डरग्राउन्ड पार्किङको विषयलाई अगाडि बढाउन सकिने उनले बताए ।

‘बहुतले पार्किङ हुनसक्छ, सार्वजनिक स्थानहरुमा पार्क भएका ठाउँहरुमा पनि माथि पार्क बनाएर पनि तल पार्किङ पनि बनाउन सकिन्छ’, उनले भने । सरकारले चाहेमा त्यस्ता कामहरु गर्न सक्ने उनको भनाइ छ । दिनानुदिन बढिरहेको सवारी साधनको व्यवस्थापन गर्नको लागि पनि यो काम गर्ने पर्ने प्रवक्ता भट्टले बताए ।

साथै अहिलेको समस्या भनेको मुख्य व्यापारिक क्षेत्रहरुमा भएकाले ती क्षेत्रहरुमा बेसमेन्ट पार्किङलाई कार्यान्वयन गर्न सकिएमा आवागमनमा सहजता हुनसक्ने उनले बताए । अहिले काठमाडौं महानगरका मेयरले पार्किङ व्यवस्थापनको लागि अगाडि बढाएको कदमले सबै ट्राफिक प्रहरी र सवारी साधनका प्रयोगकर्तालाई सहज बनाउने प्रवक्ता भट्टको भनाइ छ ।

Share News