काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार फेरी डोजर चलाएको छ । महानगरपालिकाको डोजर सहितको टोलीले सोमबार हात्तीसार-कमलपोखरी क्षेत्रमा फेरी डोजर चलाएको हो ।
पाटन जिल्ला अदालतले टुकुचामाथिको अनधिकृत संरचना नहटाउन आइतबार आदेश दिएको थियो । तर महानगरले अदालतको आदेशबारे केही जानकारी नआएको जनाएको छ ।
महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक, सिद्धार्थ बैंक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो । महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ ।
काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए । उनले महानगरपालिका विकासका लागि अघि बढीसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए ।
‘आदेश भएर नै हामी आएको हो, अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो, महानगर चीनको देख्नुभएको छ ? हामी चिनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ, त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ, रातारात काठमाडौं चेन्ज गर्नुपर्छ, अब सुत्ने होइन, उठ्ने बेला हो,’ उनले भने ।