काठमाडौं । चुनाव प्रचारप्रसारमा संलग्न स्थानीय तहका पदाधिकारीलाई निर्वाचन आयोगले कारवाही गर्ने भएको छ ।
निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा स्थानीय तहका पदाधिकारीले प्रचारप्रसार गरेको पाएपछि निर्वाचन आयोगले कारवाही गर्ने भएको हो ।
निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्वद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरिएको छ ।
आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा सम्लग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।