काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खान लागेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री किराँतीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताउँदै थ्री हन्ड्रेड जी जहाज किनेर सो मात्राको कमिसन खान लागेको बताएका हुन् ।
उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो ? जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो ? भन्दै प्रश्न गरे ।
साथै, उत्पादन नै बन्द भइसकेका जहाज किन ल्याउन खोजिएको भन्ने बारेमा सरकारले गम्भीर ध्यान दिन आवश्यक रहेको बताउँदै सांसद खतिवडाले आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न क्यामेरा लिएर जाने र भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने देश विकास कसरी हुनसक्छ ? भन्दै थप प्रश्न गरे ।
उनले भने- ‘ट्विनअटर क्यानडाबाट दुई तीन वटा जहाज किन्ने अहिले निर्णय भएको छ । झन्डै त्यो आफ्नै समितिले नेपाल एयरलाइन्सको नेपाल वायुसेवा निगमको आफ्नै समितिले ल्याउनसक्ने अवस्था छैन, ती जहाजहरु उत्पादन हुन छोडिसकेका छन्, भन्दा टेण्डर एक महिनाअघि लागू गरिएको छ । रिपोर्ट अनक्वालिफाइड भनिसकेको छ । जुन जहाजहरु अहिले उत्पादनमा छैनन्, थ्रि हन्ड्रेड जी भन्ने जहाज ल्याइँदैछ, जुन अहिले प्रोडक्शनमा छैन । त्यसमा झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागिएको छ ।’
सांसद खतिवडाले सरकारले सुशासनको नाममा लार्के लामा जस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेको बताए । उनले शान्तिका दुतको क्षेत्रमा लक्करमा गोली राख्ने मानिसहरुलाई नियुक्ति गर्नु लज्जाजनक रहेको बताए ।