काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशन कुलमान घिसिङले बक्यौता रकम उठाउनु राज्यविरुद्ध लाग्नु हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी घिसिङले यस्तो बताएका हुन् ।
‘उद्योगहरूले तिर्न बाँकी रहेको बक्यौता रकम उठाउनु राज्य विरुद्ध लाग्नु हो ? बक्यौता रकम नउठाउन मलाई निकै दबाब आए । रकम नउठाउन मलाई नैतिकताले दिएन । मलाई राष्ट्रप्रति घात गर्न मन लागेन,’ उनले भने ।
‘पन्ध्र-सोह्र घण्टा लोडसेडिङ हुने गरेकोमा लोडसेडिङ अन्त्य गरी उज्यालो नेपाल बनाउन प्राधिकरणले आफ्नो कर्तव्य निभाएको हो । मैले पनि एउटा कर्मचारीको भूमिका निर्वाह गरेको हुँ,’ घिसिङले थपे ।
विद्युत प्राधिकरणलाई सरकारले बजेट नदिएको अवस्थामा पनि जनताको घरघरमा विद्युत पुर्याउनु आफ्नो कार्यकालको ठूलो उपलब्धी भएको उनले बताए ।
घिसिङले प्राधिकरणमा आफूले धेरै काम गरिरहेकै समयमा एक्कासि रातारात हटाइएको भन्दै आक्रोश पोखे ।उनले आफूविरुद्ध सरकार सुरुदेखि नै खनिएको आरोप लगाए । उनले आफू राज्यबाट अपहेलित भएको बताए ।
उनले नेपालको विद्युत क्षेत्रमा धेरै परिवर्तन गरिरहेको दावी गरे ।
अध्याँरो नेपाललाई उज्यालोतिर लम्काइरहेको बताउँदै घिसिङले ३० लाख विद्यार्थीको सुनौलो भविष्य निर्माण गर्न भूमिका खेलेको बताए ।
'मैले देशलाई विद्दुतीकरण गर्न हरदम प्रयास गरेको हुँ । यो सामान्य थिएन । मैले हरेक नागरिकको घरमा बिजुली पुर्याउन अभियान चालेको थिएँ ,' उनले भने ।
घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परे पनि आफू विचलित नभएको प्रतिक्रिया दिए ।
उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाए ।
घिसिङले आफूलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार रहेको बताए ।
'नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुरासय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ उनले भने ।
घिसिङले राज्यका दमनविरुद्ध जाग्न जनताहरूलाई आग्रह पनि गरे ।