काठमाडौं । नेपाली संस्कृतिको संरक्षण, परम्परागत नेपाली खानाको प्रवर्द्धन तथा आन्तरिक एवं बाह्य पर्यटनलाई टेवा दिने उद्देश्यले पर्यटन राजधानी पोखरामा २०औं फेवा नववर्ष महोत्सव २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।
महोत्सव आगामी चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारको करिब ३ किमि क्षेत्र, लेकसाइड सडकमा आयोजना हुने बताइएको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
नेपाली नयाँ वर्षलाई उल्लासमय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सवको शुभारम्भ गरिनेछ । महोत्सवमा नेपाली खानाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको छ ।
पोखरा आउने पाहुनाहरूका लागि होटल संघअन्तर्गतका होटलहरूले प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्नेछन् भने अन्य व्यवसायीहरूले पनि विभिन्न छुट तथा सहुलियत दिने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन बोर्डको सहकार्यमा संघले जाऊँ है पोखरा अभियान सञ्चालन गरी पूर्वी नेपालका प्रमुख सहरहरूमा फेवा महोत्सवमा सहभागी हुन आमन्त्रण गरिसकेको छ । साथै, घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखराजस्ता प्याकेजहरू पनि घोषणा गरिएका छन् । पोखरा महानगरपालिकाले सन् २०२५ लाई ूपोखरा भ्रमण वर्ष घोषणा गरिसकेकाले यो महोत्सवले भ्रमण वर्षको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
महोत्सवलाई सफल बनाउन २१ भन्दा बढी समिति गठन गरिएका छन् । महोत्सवमा प्रदेश स्तरीय मौलिक तथा परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद, पर्यटक दौड प्रतियोगिता, ब्याडमिन्टन कप, पप कन्सर्ट, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी, लोकदोहोरी कार्यक्रम लगायत विविध आकर्षण रहनेछन् ।
महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी प्रालि रहेको छ भने सहप्रायोजक बरुण बेभरेज लि (पेप्सी) रहेको छ। अन्य प्रायोजकहरूमा बन्दीपुर केवलकार लि, फोन पे, अन्नपूर्ण केवलकार लि, टोकला चिया लगायत छन् । इन्सोरेन्स पार्टनरमा प्रभु इन्सुरेन्स कम्पनी रहेका छन् भने प्रवर्द्धक संस्थामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका छन्। होटल संघ नेपाल, पोखरा पर्यटन परिषद, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूको समेत सहयोग रहनेछ ।
नेपाली नयाँ वर्ष २०८२ लाई हर्षोल्लासपूर्वक मनाउन सम्पूर्ण नागरिकलाई महोत्सवमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।