चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत भएपछि करिब २०५ घरधुरीका बासिन्दामा खुसीयाली

चुम्चेत गाउँ । फाइल तस्बिर ।

गोरखा । उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः झलमल्ल बनेको छ । गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका- ६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोका भरमा जीवन गुजार्न बाध्य थिए । 

गाउँमा बिजुली नहुँदा गाउँले अन्धकारमा बस्न बाध्य भएको स्थानीय लोप्साङ धार्के लामाले बताए ।

'गत साउन १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत् आयोजना बगायो । त्यतिबेला गाउँले मिलेर जलविद्युत् मर्मत गरी अस्थायी रूपमा बिजुली बालेका थियौं । पछि फेरि भदौमा आएको पहिरोले जलविद्युत् बगायो,’ उनले भने, 'भदौयता बीचबीचमा अस्थायी रूपमा बिजुली आए पनि नियमित थिएन । हाल मर्मत सम्पन्न भई नियमित रुपमा बिजुली बलेको एक हप्ता भयो ।’

विद्युत् नहुँदा बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानीसमेत गर्न नपाइएको चुमनुब्री- ६ चुम्चेतका वडाअध्यक्ष सरोज लामाको भनाइ छ । अहिले बिजुली बलेपछि गाउँलेलाई तोरी, मकै, गहुँलगायत खाद्यन्न कुटानीपिसानी गर्न सहज भएको छ । 

'यता खासै रुख पाइँदैनन् । गाउँमा बिजुली नहुँदा दाउरा बालेर बस्नुपर्ने बाध्यता थियो । अलिअलि भएका रुख पनि फँडानी गरिएको थियो,’ उनले भने ।

सो गाउँमा केन्द्रीय प्रशारणको बिजुलीबत्तीको पहुँच पुगेको छैन । गाउँलेले  विसं २०७९ जेठ १५ गते निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत् आयोजनाको बत्ती बाल्ने गरेका थिए । 

गत भदौमा चुम्चेत खोला (ताम्जाखोला) मा उत्पादित सो लघुजलविद्युत् आयोजनाको मुहान, कुलो र ट्याङ्की सबै बगाएको सो आयोजनाका अध्यक्ष गोपाल लामा बताउँछन् ।

कादुरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाले निर्माण सम्पन्न गरेको सो आयोजना भत्किएपछि चुमनुब्री- ६ अन्तरगतका गाउँ अन्धकार बनेका थिए । पहिरोले झन्डै रु एक करोडको क्षति पुर्याएको लामाको भनाइ छ ।

'साउनको पहिरोले खासै क्षति पुर्याएको थिएन, त्यतिबेला सामान्य मर्मत गरेर बिजुली बालेका थियौं,’ उनले भने, 'भदौको पहिरोले आयोजना जगैदेखि बगाएर लग्यो । त्यसपछि पूर्णरूपमा मर्मत सम्पन्न गरेर बिजुली वितरण गरेको झन्डै एक हप्ता भयो ।’ 

लामाका अनुसार आयोजनाले भदौयता बीचबीचमा अस्थायी रूपमा बिजुली बालेको थियो । कादुरी संस्था आफैले मर्मत गरेर गाउँलाई पुनः झिलिमिली बनाएको अध्यक्ष लामाको भनाइ छ । 

Share News